Loading... आजः आइतवार, माघ ४, २०७७
Trending

विश्वविद्यालयले शिक्षण अस्पताल खोल्ने, कृषि र वन विज्ञान पढाउने


सुर्खेत  :  सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ। विश्वविद्यालयको दशौं सभा सिनेटले शिक्षण अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकले शिक्षण अस्पताल सञ्चालनसँगै थप चार वटा संकाय थप गर्ने निर्णय गरेको छ। स्वास्थ्य विज्ञान संकाय, कृषि तथा बन विज्ञान संकाय, अनुसन्धान र विकास केन्द्र र कर्णाली आदिवासी ज्ञान सीप तथा प्रविधि शिक्षालय थपिएका हुन्। योसँगै अब विश्वविद्यालयमा ८ वटा संकायको पठनपाठन हुनेछ। हाल विश्वविद्यालयमा मानविकी तथा समाजिकशास्त्र, शिक्षा, व्यवस्थापन र विज्ञान तथा प्रविधि र इन्जिनियरिङ संकायको पठनपाठन हुँदै आएको छ।

थप भएका चारवटै संकायमा नयाँ शैक्षिक सत्रदेखि पठनपाठन गर्ने विश्वविद्यालयका उपकुलपति प्रा।डा। नन्दबहादुर सिंहले जानकारी दिए। जसमध्ये स्वास्थ्य विज्ञान संकायतर्फ नयाँ शैक्षिक सत्रदेखि वीपीएच, बीएससी नर्सिङ र बीए नर्सिङ र कृषि तथा बन विज्ञान संकायतर्फ वीएससी एजीको पठनपाठन गरिनेछ। पहिलो वर्ष स्नातक तहमा चार वर्षे कार्यक्रम अन्तरगत वीएससी एजी, वीपीएच, वीएससी नर्सिङ र वीए नर्सिङको पढाइ हुने छ। शिक्षण अस्पताल सञ्चालनका लागि विश्वविद्यालयले आगामी दुई वर्षभित्र स्नातकोत्तर तहमा एमवीवीएस समेत सुरु गर्ने उपकुलपति सिंहले बताए।

प्रदेशको राजधानी भएका हिसावले सुर्खेतलाई रेफ्रल हस्पिटल बनाउने गरी अत्याधुनिक शिक्षण अस्पताल सञ्चालन गर्ने विश्वविद्यालयको योजना छ। अध्ययन, अनुसन्धान, अस्पताल र कृषि तथा वन विज्ञानलाई मध्यनजर गर्दै चालु आर्थिक वर्षमै अत्याधुनिक प्रयोगशालाहरु निर्माण गरिने छन्।

त्यस्तै अनुसन्धान विकास केन्द्र र कर्णाली आदिवासी ज्ञान सिप तथा प्रविधि शिक्षालयले पनि पठनपाठन गर्नेछन्। यी दुवै संकाय नेपालमा पहिलो पटक सञ्चालनमा आउन लागेका हुन्। अनुसन्धान विकास केन्द्रले नयाँ–नयाँ खोज अनुसन्धान गरेर पत्ता लगाएका विषयवस्तुमा नेपालमै पहिलो पटक प्याटेन्ट राइट लिने विश्वविद्यालयले दाबी गरेको छ। कर्णाली आदिवासी ज्ञान सिप तथा प्रविधि शिक्षालयले आदिवासी तथा जनजाति समुदायका ज्ञान र सिपमा आधारित पठनपाठन गर्ने छ। जसमा फलामका भाँडाकुडा, गहना, जातजाति अनुसारका भेषभुषाको सिलाइ कटाइदेखि चटनी ९अचार० बनाउनेसम्मको पठनपाठन हुनेछ। आदिवासी समुदायको पहिचान जोगाउन र उनीहरुका उत्पादन अनलाइनको माध्यमबाट विश्वबजारमा पुर्याउने उद्देश्यले यस्तो पठनपाठन गर्न लागिएको विश्वविद्यालयले जनाएको छ। नेपालभर कुल १२६ आदिवासी जनजातिको बसोबास छ। तर आजसम्म नेपालको मौलिक संस्कार र संस्कृति तथा ज्ञानसिपबारे पठनपाठन हुन सकेको छैन।

संकाय थप भएसँगै विश्वविद्यालयले १७१ जना नयाँ दरबन्दी पनि स्वीकृत गरेको छ। थपिएका विषयमा ९४ जना र यसअघि विभिन्न संकायमा ७७ जना गरी कुल १७१ जनाको नयाँ दरबन्दी स्वीकृत गरिएको उपकुलपति सिंहले जानकारी दिए। यसअघि विश्वविद्यालयमा ३१९ जनाको दरबन्दी स्वीकृत थियो। दरबन्दी कम हुँदा स्वीकृति गरेर विश्वविद्यालयको कार्यकारी समितिले ७७ जनालाई आन्तरिक स्रोतबाट सेवा सुविधा दिने गरी दरबन्दी सिर्जना गरेको थियो।

error: Content is protected !!