Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

दैलेखमा गौरवका आयोजना, केही अधुरो केही गति लिँदै

कमल शर्मा /अमृत प्याकुरेल
दैलेख  :  दैलेख जल,जमिन जडीबुटी र ऐतिहासिक, धार्मिक, पुरातात्विक हिसाबले धनी जिल्ला हो । प्रशस्त सम्भावनाका बीच दैलेखलाई समृद्धिको बाटोमा लैजान राष्ट्रिय गौरवका आयोजना निर्माणाधीन अवस्थामा छन् । जिल्लामा निर्माणाधीन अवस्थामा रहेको माथिल्लो कर्णाली जलविद्युत्, नयाँ सहर आयोजना कर्णाली, दुल्लु स्मार्ट सिटी, मध्य पहाडी लोमार्ग, पेट्रोलियम उत्खनन र त्रिदेशीय सडकको काम सम्पन्न भएसँगै दैलेख समृद्धिको बाटोमा अगाडि बढ्ने विश्वास गरिएको भए पनि आयोजना निर्माणको गति सुस्त हुँदा जिल्लावासी निराश भएका छन् ।

माथिल्लो कर्णाली जलविद्युत आयोजना


सर्भे भएको १३ वर्षदेखि विवादमा रहेको माथिल्लो कर्णाली जलविद्युत आयोजना मुअव्जा विवाद र लगानी जुटाउन नसकेपछि लामो समयदेखि आयोजनाको काम हुन सकेको छैन । सरकारले सन् २००८ मा भारतीय कम्पनी जीएमआरलाई सर्वेक्षण अनुमति दिएसँगै माथिल्लो कर्णाली विवादित बनेको हो । अहिले आयोजनाको काम शून्य छ । आयोजनाले झन्डै ४८ हेक्टर जमिन ओगटेको भए पनि अहिलेसम्म साढे ७ हेक्टरको १३ करोड ६२ लाख रुपैयाँ मात्र मुआब्जा दिन सकेको छ ।
माथिल्लो कर्णाली जलविद्युत आयोजनाका प्रमुख केक शर्माले आयोजनाले काम गरिरहेको बताए । उनले उत्पादित बिजुली बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले प्रतियुनिट ७।७ सेन्ट अर्थात् झन्डै ८ रुपैपा ८० पैसामा किन्ने सहमति भएपछि माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण गर्ने भारतीय कम्पनी जिएम आरलाई बाटो खुलेको बताए ।
जीएमआरले सन २०१४मै माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण गर्न लगानी बोर्डसँग परियोजना विकास सहमति पिडीए गरेको थियो । पीडीए गर्दा आर्थिक स्रोत जम्मा गर्ने सर्त राखे पनि अहिले सम्म आर्थिक स्रोत जुटाउन सकेको छैन । माथिल्लो कर्णाली जलविद्युत आयोजना बाट भारतीय निर्माण कम्पनी जीएमआरले ९ सय मेगावाट बिद्युत उत्पादन गर्ने र २५ वर्षसम्म सञ्चालन गर्न दिए बापत बिना लगानी २७ प्रतिशत स्वामित्व र १२ प्रतिशत बिजुली दिने सम्झौता गरेको थियो ।

मध्य पहाडी लोकमार्ग

अर्को महत्पूर्ण राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्य पहाडी लोक मार्ग जसले दैलेखको पूर्व भगवतिमाई गाउँपालिकाको जगनाथदेखि आठबिस नगरपालिका वडा नः २ सिगौडी हुँदै अक्षाम प्रवेश हुन्छ । दैलेखमा एक सय २५ किलोमिटर पर्ने सडक खण्डको काम अवको एक वर्षभित्र सम्पन्न हुदैछ । दैलेख सदरमुकाममा देखिएको मुअव्जा विवादका कारण सदरमुकाम ट्र्याक खोल्न समस्या भए पनि मुआव्जा वितरण गर्न सूचना प्रकाशित गरेसँगै सदरमुकामको विवाद समाधान सँगै अबको एक वर्षभित्र एक सय २५ किलोमिटर सडकखण्ड कालोपत्रे हुने भएको छ ।
मध्य पहाडी लोक मार्ग आयोजना कार्यालयका योजना प्रमुख अर्जुनकुमार बमले जिल्ला भर एक यी २५ किलोमिटर सडक खण्डमा काम भइरहेको बताए । उनले निर्माण कम्पनीले सम्झौता अनुसार काम धमाधम सुरु भए सँगै आयोजनाले गति लिएको र एक वर्ष भित्र निर्माणकार्य सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने मुआब्जा र जग्गा विवादको समस्या समाधान भएसँगै कालोपत्रेको कामलाई तीव्रता दिइनेछ, अहिले केही भागमा कालोपत्रे भइसकेको र अन्य भागमा कालोपत्रे पूर्व गर्नुपर्ने सबै कामहरू गरिरहेका छौँ ।

मध्य पहाडी अन्तर्गतकै राकम नयाँ सहर आयोजनाको काम पनि लामो समयदेखि अलपत्र परेको थियो । स्थानीय सरकारका जनप्रतिनिधि र जग्गाधनीबीच उचित मुअव्जा दिने सहमति भए सँगै नयाँ सहर आयोजनाले कामको गति बढाएको छ । कर्णाली नयाँ सहर आयोजनाका प्रमुख सुशील रसाइलीले मुअव्जा विवाद भएका कारण आयोजनाले सोचे अनुरुप गति लिन नसके पनि काम भने प्रत्येक वर्ष भइरहेको बताए । उनले अव छिटै बाँकी रहेका ठेक्का आह्वान गरेर काम अगाडि बढाउने बताए ।
दुल्लु स्मार्ट सिटीको काम भने बजेट नआउँदा अघि बढ्न नसकेको नगरप्रमुख घनश्याम भण्डारीले बताए । उनले स्मार्ट सिटीका लागि विभिन्न क्षेत्रको गुरुयोजना तयार गरे पनि बजेट अभाव हुँदा अहिले सम्म काम हुन नसकेको बताए । उनले भने स्मार्ट सिटीका लागि नगरपालिकाले ३ ठुला योजनासमेत छनोट गरिसकिएको छ । त्यो बजेट आउन बित्तिकै काम अगाडि बढ्छ ।

पेट्रोलियम उत्खनन

कोरोना महामारीका कारण दैलेखमै पेट्रोलियम पदार्थ उत्खननको कामले पनि गति लिएको छैन । उत्खननको काम सक्नुपर्ने खानी तथा भूगर्भ विभागले पुनः सम्झौताको तयारी गरेको छ । अन्वेषणका लागि पहिलोपल्ट सन् २०१७ र दोस्रो पटक २०१९ मा सम्झौता भएको थियो । खानी तथा भूगर्भ भबिभागका भूगर्भभबिद डा गणेशनाथ त्रिपाठीका अनुसार पेट्रोलियम पदार्थ अन्वेषणका लागि खनिएका १० वटा लाइनमा भएपश्चात मुख्य ड्रिलिङका लागि असोजमा गर्ने तयारी गरे पनि कोरोना महामारीका कारण स्थगित हुन पुगेको बताए । उनले पहिलो चरणको काम हामीले आधा कोरोना महामारीका बीचमै ग¥यौ यो बीचमा कोरोना महामारीको तीव्र संङक्रमणका कारण काम गर्ने सक्ने अवस्था नभएका कारण काम रोकिएको हो अव छिटै अन्य काम सुरु हुन्छ ।

दैलेख, कालिकोट, मुगु हुँदै तिब्बतको नाम्चेनाग्ला जोड्ने सडकमा पनि सोचे अनुसार काम हुन सकेको छैन । गत आर्थिक वर्ष प्रतिनिधि सभा सदस्य स्थानीय पूर्वधारको ६ करोड रुपैयाँ उक्त सडकमा विनियोजन गरेको भए पनि गर्त वर्ष काम गरेका ठेकेदारले समेत भुक्तानी पाएनन् । सांसद शर्माले भने यो वर्ष १० करोड सङ्घीय सरकारले विनियोजन गरेको छ । जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले जिल्ला रूपान्तरणका लागि गौरवका आयोजना मध्य पहाडी लोकमार्ग बाहेक अन्यमा काम कम भएको बताए । उनले मध्य पहाडी लोकमार्ग जसरी द्रुतगतिमा काम भइरहेको छ त्यसरी अन्य आयोजना अगाडि बढाउने हो भने जिल्लाको मुहार परिवर्तन हुने बताए ।

उनले भने ती मात्र होइन अन्य ठुला आयोजना निर्माण र गरेर सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरेका छौ त्यसमा बजेट विनियोजन गरेर कार्यान्वयन गर्ने हो भने दैलेख मात्र होइन सिङ्गो कर्णाली समृद्धिको बाटोमा लम्कनेमा दुबिधा नहुने उनको भनाइ छ ।