नेकपा सचिवालय बैठक २० गतेसम्मका लागि स्थगित
काठमाडौँ : प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि नेकपा सचिवालय बैठक प्रभावित भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली बुधबारको बैठक स्थगनको पक्षमा थिए ।
बुधबार दिउँसो १ बजे बोलाइएको बैठक एक घण्टा ढिला गरी बस्ने भनिएपनि प्रधानमन्त्री अनुपस्थित भएपछि अन्य नेताहरु केही बेर अनौपचारिक रुपमा बैठकमा बसेका थिए । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,सचिवालयको बैठकमा अध्यक्ष कमरेड केपी उपस्थित हुनुभएन । त्यसकारण आजको बैठकले पार्टीमा देखा परेको संकट र विद्यमान समस्या समाधानका लागि प्रधानमन्त्री ओलीको समेत उपस्थितिमा बैठक बस्नु आवश्यक, उपयुक्त र उचित हुन्छ भन्ने निष्कर्षका साथ आगामी बैठकमा उहाँको अनिवार्य उपस्थितिको अपेक्षासहित अनुरोध गर्ने निर्णय गरेका छौँ ।’
प्रवक्ता श्रेष्ठका अनुसार सचिवालयको बैठक मंसिर २० मा र मंसिर १८ का लागि बोलाइएको स्थायी कमिटी बैठक मंसिर २१ सम्मका लागि सरेको छ । उनले आगामी बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने आफूहरुको अपेक्षा र विश्वास रहेको बताए । ‘पार्टी गम्भीर संवेदनशिल मोडमा छ ।
असामान्य परिस्थितिमा संवेदनशिल विषयमा छलफल गर्न ओली कमरेड आउनु भएन भने गर्ने के गर्ने भन्ने हामी सोच्न चाहन्नौं, त्यसैले उहाँ उपस्थिति हुनुहुन्छ भन्ने अपेक्षा मात्र होइन विश्वस्त छौं ।