शिक्षण सिकाई प्रभावकारी बनाउँन सबैको लगनशिलता आवश्यक
दैलेख : गुराँस गाउँपालिकाका श्रोत शिक्षक थीरेन्द्रकुमार बीसीले शिक्षण सिकाई प्रभावकारिताको निम्ति शिक्षक, विद्यार्थी र अभिभावक समेतको लगनशीलता आवश्यक रहेको बताएका छन । सहयात्रा परियोजनाले गुराँसेमा आयोजना गरेको लैंगिक समता, सकारात्मक अनुशासन र मनोसामाजिक सहयोग विषयक पाँच दिने तालीमको समापन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।
कार्यक्रममा सहयात्रा परियोजनाका कार्यक्रम निर्देशक नवराज बीसीले तालिम सिकेको सीप व्यवहारमा प्रयोग गर्न तालिममा सहभागी शिक्षकहरुको विद्यलाय तथा समुदायमा समन्वय आवश्यक हुने बताए ।
तालिम समापन कार्यक्रममा सहजकर्ता पत्रकार अमर सुनारले कोभिडको प्रभाव कम गर्न लैंगिक समता, सकारात्मक अनुशासन र मनोसामाजिक सहयोग अझ बढी आश्यकता भएको बताए । मंसिर ५ गतेदेखि सुरु भएको तालिममा लैंगिक समता विषयमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका बाल अधिकार श्रोत व्यक्ति डम्वर रोकाय, सकारात्मक अनुशासन सम्वन्धी सहयात्रा परियोजनाका शैक्षणिक श्रोत व्यक्ति बासुदेव भट्टराई र मनोसामाजिक सहयोग सन्दर्भमा बाल मनोविज्ञ पत्रकार अमर सुनारले सहजीकरण गरेका थिए ।
परियोजनाले दैलेखको गुराँस गाउँपालिकाका ८ वटै वडाका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार, बालअधिकार संरक्षण र सुशासन विषयमा सन् २०१९ देखि ५ वर्षका लागि काम गर्दै आएको छ ।