Loading... आजः सोमवार, भदौ ३१, २०८१
Trending

सुरक्षा मापदण्ड अपनाएर कक्षा ११ को परीक्षा सुरु

कोरोना भाइरस महामारीबीच स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरेर बैतडीमा पनि कक्षा ११ को परीक्षा सुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको अनुकूलतामा परीक्षा सञ्चालन गर्न भनेपछि विभिन्न विद्यालयमा कक्षा ११ को परीक्षा सुरु गरिएको हो ।

आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ११ को परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णयपछि विद्यालयले परीक्षा सञ्चालन गर्न थालेका हुन् ।

कोरोना भाइरसको जोखिमबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परीक्षा सुरु गरिएको सेटीगाउँ मावि ककरपाखाका प्रधानाध्यापक परमानन्द जोशीले जानकारी दिए ।

वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि २०७७ अनुसार विद्यालयले कक्षा ११ को परीक्षा सुरु गरेको जनाएका छन् ।

बैतडीमा ५९ विद्यालयका विद्यार्थी परीक्षा दिने तयारीमा छन् । केही विद्यालयमा परीक्षा सुरु भइसकेको जानकारी आएको छ भने केही विद्यालय परीक्षाको तयारीमा रहेको जानकारी आएको शिक्षा विकास तथा समन्वय एकाइका प्राविधिक सहायक रामचन्द्र भट्टले जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डले १२ मङ्सीरभित्र सबै विद्यालयलाई कक्षा ११ परीक्षा गरिसक्न निर्देशन दिएको छ ।

बैतडीमा तीन हजार ६५५ जना कक्षा ११ का परीक्षार्थी रहेका एकाइले जनाएको छ । रासस