Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

दाहालले बोलाएको सचिवालय बैठकमा ओलीसहित चार सदस्य अनुपस्थित

काठमाडौं-  नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आज (शुक्रबार) धुम्बारहीमा बोलाएको केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओली लगायतका चार सदस्य अनुपस्थित छन्।

बैठकमा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल अनुपस्थित रहेका हुन्।

अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष बामदेव गौतममात्र बैठकमा छन्।

महासचिव पौडेल र गृहमन्त्री थापाबीच बेग्लै छलफल भइरहेको बुझिएको छ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओली सचिवालयलगायत पार्टी कमिटीका बैठक बोलाउन सहमत नभएपछि दाहाल एक्लैले बैठक आह्वान गरेका हुन्।

बिहीबार ओलीलाई भेट्न बालुवाटार पुगेका दाहालले सचिवालय बैठक बोलाउन माग गरेपनि ओली सहमत भएका थिएनन्। पछिल्लो समय नेकपाभित्र विवाद तीब्र बनेको छ।

गएको आइतबार दाहालले खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासँग छलफल गरेका थिए।  उनीहरू सचिवालय बैठक बोलाउने निस्कर्षमा पुगेका थिए।