रेडपाण्डाको छालासहित चार जना पक्राउ
सुर्खेत : दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । वीरेन्द्रनगर–६ गोदाम लाइनमा रहेको होटल पञ्चकोशीमा रेडपाण्डाको छालाको कारोवार भइरहेको सूचनाको आधारमा प्रहरीको विशेष टोलीले चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दैलेख नौमुले गाउँपालिका–२ का २६ वर्षीय मनोज विक, सोही गाउँपालिका–३ बस्ने ४१ वर्षीय मनबहादुर सुनार, २९ वर्षीय पदमबहादुर सुनार र नारायण नगरपालिका–९ बस्ने ४० वर्षीय सबिता थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
उनकाअनुसार होटलमा कारोबार भइरहेको अवस्थामा कर्णाली प्रदेश ब्यूरो र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले आज विहान पक्राउ गरेको हो ।
‘नेपालगञ्जबाट छाला खरिद गर्न आउन लागेका व्यक्तिहरूसँगको सम्पर्क गराउने भूमिका महिलाका रहेको देखियो, एसपी भट्टले भने, दैलेखबाट छाला तीन जनाले ल्याएपनि रेडपाण्डा मार्ने व्यक्तिहरु भने अरु नै रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । ८ लाख रूपैयाँ मुल्यमा कुरा भइरहेको सूचना प्रहरीलाइ आएपछि पक्राउ गर्न सफल भएको पनि भट्टले जनाए ।
प्रहरीले उनीहरुको साथबाट चार फिट र तीन फिट ६ इन्च लम्बाइ भएको दुइ थान रेडपाण्डाको छाला बरामद गरिएको एसपी भट्टले जानकारी दिए । थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय सुर्खेतमा बुझाइने पनि एसपी भट्टले उल्लेख गरे ।