Loading... आजः सोमवार, भदौ ३१, २०८१
Trending

कर्णालीमा नेकपा विवाद : मन्त्रीपरिषद् पुनर्गठनकाे तयारी

सुर्खेत , नेपाल कम्युनिस्ट पार्टी नेकपा कर्णाली प्रदेशसभा दलको भोली बस्न लागेको बैठकमा अविश्वासको प्रस्तावमा छलफल केन्द्रीत हुने भएको छ । गत असोज २५ गतेदेखि आन्तरिक किचलोमा फसेको नेकपा कर्णाली प्रदेशसभा दलको बैठक प्रमुख सचेतक सीता नेपालीले भोली आह्वान समेत गरिसकेकी छन् । ११ बजे बस्ने बैठकमा अविश्वासको प्रस्तावमै केन्द्रीत रहने प्रमुख सचेतक नेपालीले बताएकी छन् ।

विवाद मिलाउन काठमाडौं पुगेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बैठकका लागि वीरेन्द्रनगर आइसकेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, अविश्वास प्रस्तावको नेतृत्व गर्ने यामलाल कँडेल, प्रमुख सचेतकको जिम्मेवारीबाट हटाइएका गुलावजंग शाह सुर्खेत फर्किंदैछन् । मुख्यमन्त्री शाहीले सकेसम्म सबैलाई मिलाएर लैजाने बताएका छन् ।

आफू एक कदम अघि बढिसकेको बताउँदै सबैले आफ्नो गल्ती सुधार गरेर जान खोजे सहमतिमा नै आफू अघि बढ्न तयार रहेको शाहीको भनाई छ ।

‘सकेसम्म सबै पक्षलाई मिलाएर लैजान्छु । सबैले आफूबाट भएका गल्ती महसूस गर्ने र आगामी दिनमा नदोहो¥याउने प्रतिबद्धता जनाउन आवश्यक छ,’ उनले भने, ‘बैठकमा मैले मेरो धारणा राख्छु । सहमति नभए बहुमतका आधारमा भए पनि अघि बढछु ।’

आफू कुनै गुट–उपगुटमा विश्वास नगर्ने व्यक्ति भए पनि आजको मितिसम्म काम गर्न नदिइएको गुनासो मुख्यमन्त्रीको छ । ‘मैले यसअघि सबैलाई मिलाएर लैजाने भन्दै अघि बढेको थिएँ,’ उनले भने, ‘तर अब कर्णालीमा धेरै पानी बगिसकेको छ । कर्णालीका नागरिकका चाहना अनुसार काम गर्न बहुमतकै आधारमा भए पनि अघि बढ्छु ।’

मुख्यमन्त्री शाहीले अबको केहीदिनमै मन्त्री हेरफेर हुनसक्ने जनाउ गरेका छन् । तर प्रमुख सचेतक नेपालीले समेत स्थायी कमिटीकाे बैठकले नै मन्त्रीपरिषद् पुनर्गठन गर्ने सहमति गरिसकेकाले कर्णालीमा पनि लागु हुने बताइन् । ‘यहीँ समयमा हेरफर नहुन सक्छ तर केही समयमा मन्त्री परिषद् पुनर्गठन चाही हुन्छ’ नेपालीले भनिन ।

उपसभामुख पुष्पा घर्तीले समेत आफू विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकोप्रति दुःखी हुँदै मुख्यमन्त्री शाहीले दलको बैठकले उपयुक्त निर्णय लिने बताए ।

उनलाई हटाउने वा के गर्ने भन्ने विषयमा अहिले नै भन्न हतारो हुने उनले बताए । मुख्यमन्त्री शाहीले प्रमुख सचेतक र सचेतक नियुक्त भइसकेको बताउँदै अब जिम्मेवारीमा कुनै पनि हेरफेर नहुने बताए । नेपाली रैवारबाट