दैलेखमा एक हजार १०९ जनाले जिते कोरोना
दैलेखः : कोरोना संङक्रमणको हटस्पट बनेको दैलेखमा पछिल्लो समय कोरोना संङक्रमण पुष्टि हुनेको संख्या घटेको छ । जिल्लाभर एक हजार १४२ जना कोरोना सङ्क्रमित मध्ये एक हजार १०९ जनाले कोरोना जितेर घर फर्किएका छन् । जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थीर प्रसाद रेग्मीका अनुसार जिल्लामा अहिले सक्रिय संङक्रमितको संख्या ३३ जना रहेको जानकारी दिए ।
उनले नारायण नगरपालिकाको आइसोलेसनमा १६ जना,दुल्लु नगरपालिकाको आइसोलेसनमा ४ जना,चामुण्डाबिन्द्रासैनी नगरपालिकामा १ जना,भैरवी गाउँपालिकामा २ जना,गुराँस गाउँपालिकामा १० जना गरी ३३ जना सक्रिय सङ्क्रमित रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । उनका अनुसार कोरोना भाइरस संङक्रमणका कारण दैलेखमा चार जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउने मध्ये दु नगरपालिकाका तीन जना र नारायण नगरपालिकाका १ जना रहेका छन् ।
११ स्थानीय तहमा नै कोरोना संङक्रमण देखिए पनि डुगेश्वर गाउँपालिका,भगवतिमाई गाउँपालिका,नौमुले गाउँपालिका,ठाटिकाँध गाउँपालिका,महावु गाउँपालिका र आठबिस नगरपालिकामा भने कोरोना संङक्रमण मुक्त भएका छन् । नेपालीहरूको महान् चाड दसैँ तिहारमा भारत लगायत तेस्रो मुलुकमा रहेका नेपालीहरू घर फर्कने हुँदा कोरोना संङक्रमण व्यापक रूपमा बढ्ने अनुमान गरिएको छ । नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले यो महामारीमा आफू बसेको स्थानमा नै दसैँ तिहार मनाउन आग्रह गरेका छन । उनले नगरपालिकाका बाट सार्वजनिक रूपमा सूचना जारी गर्ने र उहाँहरूका आफन्तलाई बसेको स्थानमा सुरक्षित रूपमा दसैँ तिहार मनाउन र गाउँमा नफर्किन आग्रह सूचना जारी गर्ने तयारी गरेको बताए ।
प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले नेपाल सरकारले प्रत्येक पालिकामा एक सय शय्याको आइसोलेसन अस्पताल बनाउने निर्देशन दिए अनुसार पालिकाहरूले त्यस तर्फ ध्यान दिन आग्रह गरेका छन । उनले भोलि नागरिक आएपछि उनीहरूको पिसिआर परीक्षण देखी बस्ने व्यवस्थापन गर्न समस्या हुने भएकाले सरकारले निर्देशन दिए अनुसार आइसोलेसन अस्पताल निर्माण गरी तयारी अवस्थामा बस्न स्थानीय तहलाई निर्देशन समेत दिएको बताए ।