Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

जाजरकोटमा जिप दुर्घटना, वडाध्यक्ष सहित ६ जनाको मृत्यु

जाजरकोट :  जाजरकोटमा भएको जीप दुर्घटनामा वडाध्यक्षसहित ६ जनाको मृत्यु भएको छ । जुनिचाँदे गाउँपालिका ११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित ६ जनाको जीप दुर्घटनामा मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही गाउँपालिका ५ मटेलाका मालिका बस्नेत, कृष्णबहादुर शाही, ११ वडा नम्बरका कृतिबहादुर शाही र स्वास्थ्यकर्मी खेमबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार वेपत्ता दुइ जना मध्य एक जनाको शव भेटिएको र उनको पहिचान भएको छैन् । घटनामा अर्का एक अझै वेपत्ता रहेको र उनको खोजीमा प्रहरी र स्थानीय खटिएका डिएसपी श्रेष्ठले बताए ।

जाजरकोट सदरमुकाम खल‌ंगाबाट जुनिचाँदेको पराले जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाउँपालिका(१ स्थित औलभीरमा आज दिउँसो दुर्घटना भएको हो । गम्भीर घाइते नरबहादुर बुढालाइ भने पालिकाकै गाडीमा थप उपचारको लागि सुर्खेत पठाइएको डिएसपी श्रेष्ठले बताए । जीप सडकबाट अन्दाजी पाँचदेखि सात सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन् । घटना लगत्तै चालक गोरख बस्नेत भने फरार रहेको श्रेष्ठको भनाइ छ ।