Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

त्रिदेशीय सडकको महावु सडक खण्डमा आठ करोडको ठेक्का

दैलेख  :  नेपालगन्जको जमुनाहा देखी ,सुर्खेत दैलेख सदरमुकाम हुँदै कालिकोट,जुम्ला मुगु डोल्पा हुँदै नाग्चेनाग्ला जोड्ने त्रिदेशीय सडकको महावु सडक खण्डका लागि यो वर्ष ठेक्का खोलिएको छ । सङ्घीय सरकारले सडक डिभिजन कार्यालय सुर्खेत मार्फत महावु सडक कालोपत्रेका लागि आठ करोडको ठेक्का खोलेको हो । दैलेख सदरमुकामको बसपार्क काडाँचौरलाई शुन्य बिन्दु मानेर महावु सम्मको सडक कालोपत्रेका लागि पहिलो चरणको ठेक्का खोलेको सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी देवेन्द्र भट्टराईले जानकारी दिए ।
दैलेख निर्वाचन क्षेत्र नः १ का प्रतिनिधि सभा सदस्य रवीन्द्र शर्माले खर्च गर्न पाउने निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत गत वर्ष छ करोड उक्त सडक कालोपत्रे गर्नका लागि विनियोजन गर्नुभएको थियो । गत वर्ष छ करोड मध्ये तीन वटा टेन्डर गरेको नगरपालिकाले बचेको एक करोड ६ लाखमा पिसिआर मेसिन खरिद गरिएको थियो ।
त्यस्तै सडक डिभिजन कार्यालय सुर्खेतले तल्लोडुगेश्वर दुल्लु हुँदै भैरवी गाउँपालिकाको बेहुली लेक हुँदै कालिकोटको भर्ता हुँदै कर्णाली राजमार्गमा जोेड्ने सडकको काम पनि तिब्रताका साथ अगाडी बढाइएको छ ।

भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले बेहुली देखी कालिकोट जोड्ने सडकका लागि गत वर्ष डाडीमाडी कुसापानी सडक खण्डमा एक करोड,गागुगौडा देखी पानीपोखरा सडक खण्डमा एक करोड बेहुली देखी कालिकोट सम्म जोड्ने सडकमा एक करोड गरी तीन करोडको काम भएको बताए । उनले बेहुली लेक र कालिकोटको भर्ता लेख जोड्ने सडकमा यो वर्ष ३५ लाख रकमको ठेक्का सडक डिभिजन कार्यालय सुर्खेत बाट टेन्डर खोलेको बताए ।

नेपालगन्जको जमुना देखी ,सुर्खेत दैलेख सदरमुकाम हुँदै कालिकोट,जुम्ला मुगु डोल्पा हुँदै नाग्चेनाग्ला जोड्ने त्रिदेशीय सडक निर्माण भएमा सुर्खेत देखी जुम्ला ८६ किलोमिटर दुरी कम पर्ने बताइएको छ । गत वर्ष विनियोजन गरेको ५२ लाखको ठेक्कामा मुगु बाट काम सुरु गरिएको थियो । मुलुक सङ्घीयतामा गए पश्चात् निर्माण भएका स्थानीय तह गाउँ गाउँमा चहलपहल बढे पनि दैलेख सदरमुकाममा सुनसान भएपछि व्यापारी समेत चिन्तित भएका थिए ।