Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

एघार महिना सम्म पीडित परिवारले पाएनन् राहत

दैलेख  :  घर नजिकै सालको रुखमा घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएका नारायण नगरपालिका वडा नः ४ सोतका ११ वर्षीय बालक गणेश विष्टका परिवारले ११ महिना सम्म राहत नपाएको गुनासो गरेका छन् । गत मङ्सिर २८ गते करेन्ट लागेर बिद्युतको तारमा अड्किएर मृत्यु भएपछि पीडित परिवारले क्रिया खर्च,घरको एक जनालाई रोजगारी र पाँच लाख रुपैयाँ दिने सहमति भएपछि शव बुझेर दाहसंस्कार गरे पनि ११ महिना सम्म सहमति भएको कुरा गरेपछि आफूहरू अन्यायमा परेको बताएका छन् ।

पीडित परिवारले शव बुझ्न नमानेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल,जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर थापा,नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्का,विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख र पीडित परिवार बाट नारायण नगरपालिका वडा नः ११ का वडा अध्यक्ष टङ्क बहादुर विष्ट र वडा न ः ४ का अध्यक्ष वीर बहादुर कटुवालले सहमति गरेका थिए ।
मृतक बालकका बुवा अम्मर विष्ट छोरा गुमाउँदा आफू पीडामा परे पनि सम्बन्धित निकायले चासो नदिँदा समस्यामा परेको बताए । उनले विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्रमा जाँदा तपाईँहरूको काम हुन्छ भन्न थालेको १० महिना भए पनि आफूहरूले राहत नपाएको बताए ।
विद्युत् प्राधिकरण बिद्युत वितरण केन्द्रका प्रमुख शिवजी प्रसाद शाहले पीडित परिवारलाई राहत दिनका लागि आफूहरूले प्रयास गरे पनि कोरोनाका कारण समयमै उपलब्ध गराउन नसेको स्वीकार गरेका छन । उनले जिल्लामा त्यसको अधिकार केही नहुने र त्यसका लागि बिद्युत प्राधिकरण प्रादेशिक कार्यालयमा सुर्खेतमा आवश्यक कागजात पु¥याएको र अव यहाँ बाट गएर त्यसको वास्तविक प्रतिवेदन तयार गरेपछि मात्र भुक्तानी हुने बताए । उनका अनुसार घटना भएपश्चात एक जनालाई रोजगारी दिने र पाँच लाख रकम दिने सहमति भएको भए पनि रकम आएपछि मात्रै अन्य कुरा हुने छ ।

पीडित परिवारका तर्फ बाट सहमति पत्रमा हस्ताक्षर गरेका नारायण नगरपालिका वडा नः ११ का अध्यक्ष टङ्क बहादुर विष्टले आफहरुले तत्कालीन समयमा कागज पत्र तयार गरी पठाएको भए पनि भुक्तानी पाए नपाएको पीडित परिवारले आफूलाई जानकारी नदिएको बताए । उनले कोरोना महामारीका कारण पनि यो समस्या आएको बताउँदै तत्काल आफुनै गएर सम्बन्धित परिवार लाई लिएर राहतका लागि पहल थाल्ने बताए ।