Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

दाङको पक्षमा मतदान गर्न नेकपाको ह्वीप 

बुटवल :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ को संसदीय दलको शनिबार बिहान संसदीय दलका नेता एवं मुख्यमन्त्री शंकर पोखरेलको निवास डिभिजन सडक कार्यालय परिसरमा बैठक झण्डै ६ घण्टा बसेर बैठक सकिएको छ। बैठकले शुक्रबार प्रदेशसभामा पेस भएको प्रदेशको स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

सत्तारुढ दल नेकपाले आफ्ना प्रदेश सभा सदस्यहरुलाई प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने भएपछि नाम र स्थायी राजधानीको प्रस्ताव स्वीकृत हुने देखिएको हो। प्रदेश सरकारले प्रदेश राजधानी दाडको देउखुरीमा बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा लगेको थियो।

शनिवार बिहानैबाट बसेको संसदीय दलको बैठकले सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्ने  निर्णय गरेको प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले बताए। उनले सबै जिल्लाका सांसदहरुले आफ्नो धारण राखेको र लामो समयको छलफलपछि सरकारले ल्याएको निर्णयलाई समर्थन गर्ने निष्कर्षमा पुगिएको बताए।

बैठकमा मुख्यमन्त्री पोखरेलले प्रस्तावका पक्षमा एकमत हुन र मतदान गर्न सांसदहरुलाई निर्देशन दिएका छन्। प्रदेश ५ मा प्रदेश राजधानी रुपन्देही बनाउने कि दाङ भन्ने विषयमा पहिलेदेखि नै विवाद हुँदै आएको थियो। प्रदेश सभाको आगामी बैठक असोज १९ गते सोमबार मध्याह्न १२ बजे बोलाइएको छ।

सांसदले आफ्ना धारणा राखेपछि मुख्यमन्त्री पोखरेलले प्रस्तावबारे थप प्रस्ट पार्ने सहमतिअनुसार प्रस्ताव पास गर्न निर्देशन दिएको बताइएको छ। प्रदेशसभामा पेस भएको प्रस्ताव पास गर्न दुई तिहाइ बहुुमत आवश्यक हुन्छ। प्रदेश ५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ६१, विपक्षी नेपाली कांग्रेसका १९, मधेसकेन्द्रित दलका ६, राष्ट्रिय जनमोर्चाका १ सहित ८७ जना सांसदहरु रहेका छन्।