Loading... आजः शनिबार, मंसिर २०, २०७७
Trending

विस्तार हुँदै सुर्खेत विमानस्थल

काठमाडौँ :  सुर्खेत विमानस्थलको विस्तार, विकास तथा स्तरोन्नतिका लागि सङ्घीय सरकार र प्रदेश सरकारबीच समझदारी भएको छ । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको एक कार्यक्रममा उक्त समझदारीमा हस्ताक्षर भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सोही प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको उपस्थितिमा प्रदेश सचिव घनश्याम उपाध्याय र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पौडलले उक्त समझदारीमा हस्ताक्षर गरेका हुन । । विमानस्थल निर्माण तथा विस्तारका लागि सङ्घ र प्रदेशबीच भएको यो पहिलो समझदारी पनि हो ।
समझदारीअनुसार सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिसम्बन्धी प्राविधिक प्रतिवेदनबमोजिम जग्गा अधिग्रहण र मुआब्जा वितरण समेतका लागि नेपाल सरकारबाट हुनुपर्ने आवश्यक निर्णयका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेस गरिने भएको छ । विमानस्थल विस्तारका लागि आवश्यक थप जग्गा अधिग्रहणका लागि पहिचान गरी सिफारिस गर्ने, निर्माणको काम अगाडि बढाउने, जग्गाको नियमानुसार मुआब्जा वितरण गर्दा हुने खर्चको ५० प्रतिशत रकम प्रदेश सरकार र ५० प्रतिशत रकम नेपाल नागरिक उड्डयन प्राधिकरणले बेहोर्ने समझदारी भएको छ ।

जग्गा अधिग्रहण र यससम्बन्धी अन्य कार्यमा कुनै समस्या देखिएमा समाधानका लागि आवश्यक पहल, सहजीकरण एवं समन्वय गर्ने काम प्रदेश सरकारको हुनेछ । स्रोतको उपलब्धताका आधारमा दुवै पक्षले लागत साझेदारीमा आपसी सहमतिबाट थप रकम योगदान गर्नसक्ने छन् । समझदारीको कार्यान्वयनमा कुनै विवाद उत्पन्न भएमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट समन्वय गरी विवादको समाधान गर्ने समझदारी भएको छ ।
समझदारीका लागि आयोजित कार्यक्रममा मन्त्री भट्टराईले सङ्घीयता कार्यान्वयनको सन्दर्भमा यो समझदारी कोसेढुङ्गा हुने दाबी गरेका छन । भविष्यमा यस्ता किसिमका आयोजना विकासमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशसँग पनि समझदारी हुने उनले जानकारी दिए ।

error: Content is protected !!