Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या एक सय नाघ्यो

काठमाडौँ :  कोरोना भाइरस सङ्क्रमण बाट मृत्यु भएकाको संख्या एक सय नाघेको छ । पछिल्लो चौबीस घण्टामा तीन जनाको सङ्क्रमण बाट मृत्युको पुष्टि भएको हो । कोरोना सङ्क्रमित मृतकको संख्या १०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो दुई साता यता औसतमा दैनिक तीनदेखि पाँच जना सङ्क्रमितको मृत्युको पुष्टि हुँदै आएको छ ।

नेपालमा पहिलो पटक जेठ ३ गते एक सुत्केरी महिलाको कोरोना सङ्क्रमणबाट मृत्युको पुष्टि भएको करिब ९० दिनपछि मृतकको संख्या एक सय नाघेको छ । मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा बढी प्रदेश २ मा ४४ जना सङ्क्रमितको मृत्यु भएको छ । प्रदेश २ मा सङ्क्रमणबाट मृत्यु हुनेमा ३३ जना पुरुष र ११ जना महिला छन् । उक्त प्रदेशमा हाल तीन हजार ८२७ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश १ मा नौ जना सङ्क्रमितको मृत्यु भएको छ ।

वाग्मती प्रदेशमा १३ पुरुष र पाँच महिला गरी १८ जना, गण्डकी प्रदेशमा छ जना, प्रदेश ५ मा दश जना पुरुष र तीन जना महिला, कर्णाली प्रदेशमा चार जना पुरुष र सुदूरपश्चिम प्रदेशमा पाँच पुरुष र तीन महिला गरी कुल १०२ जनाको मृत्यु भएको छ । जसमध्ये ८० पुरुष र २२ महिला छन् ।