Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

सार्वजनिक स्थलमा भीडभाड गर्न नपाइने

सुर्खेत :  कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएकोले यसको नियन्त्रणका लागि सुर्खेतका कुनै पनि सार्वजनिक स्थलमा सभा, गोष्ठी, सेमिनार, तालिम, जुलुस, जात्रा, पुजा महोत्सवलगायतका कार्यक्रमहरुमा जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतमा बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा अर्को सूचना प्रकाशित नभएसम्म सार्वजनिक स्थलमा यस्ता कुनै पनि कार्यक्रम गर्न नपाइने निर्णय गरेको छ ।

‘दिनप्रतिदिन विभिन्न चाडपर्वहरु आउँदैछन् । जसका कारण मानिसहरुको भीडभाड भएपछि कोरोनाको संक्रमण झन् बढ्दै जाने संभावना हुन्छ,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, आजैबाट (मंगलबार) लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक स्थानमा सभा, गोष्ठी, सेमिनार, जात्रा, पुजापाठ महोत्सवमा रोक लगाइएको छ ।

कोरोना संक्रमण दर नघटेको कारण जोखिम रहिरहेकोले भारत लगायत अन्य मुलुकबाट आउने व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राख्नको लागि प्रत्येक पालिकाले कम्तीमा एउटा क्वारेन्टाइन यथावत राख्ने र आउने व्यक्तिहरुको निगरानी बढाई व्यवस्थित अभिलेख राख्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए । यस्तै बैठकमा कोरोनाबाट पर्न सक्ने सम्भावित जोखिम नियन्त्रण, रोकथाम तथा उपचार लगायतका कार्यको लागि यस जिल्लामा हालसम्म भए गरेका क्रियाकलापहरुको बारेमा पनि समीक्षा गरिएको उनको भनाई छ ।