Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

बाढीपहिरोले कालीकोटमा खानेपानी अवरुद्ध


कालिकोट :  साता दिनदेखिको अविरल वर्षाले कालीकोटका रास्कोट, नरहरिनाथ र सान्नी त्रिवेणीमा खानेपानी, सिँचाई र सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ । बाढी पहिरोले कालीकोटमा २२ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् । जिल्लाभर १ सयभन्दा बढी घर क्षतिग्रस्त भएका छन् । पाँचसय घरहरुमा आशिंक क्षति पुगेको छ ।

पहिरोले रास्कोट नगरपालिकाका २९ वटा खानेपानी स्किम बाढी पहिरोले बगाएको छ भने १४ वटा सिँचाई कूलो भत्काएको नगर प्रमुख काशीचन्द्र बरालले बताए । उनले खानेपानी अभावमा गाउँमा हाहाकार भएको बताए । ‘क्षरास्कोट त टापुजस्तो भयो । नगर प्रमुख बरालले भने, ’हिँड्ने सडक छैन, पिउने पानी छैन, विद्युत् नहुँदा मिल चल्दैन, खोलाका घट्ट सबै बगिसके ।’ नगर प्रमुख बरालकाअनुसार रास्कोटमा मात्र ३ सय ६० परिवार विस्थापित भएका छन् ।

पहिरोले रास्कोट नगरपालिकामा खानेपानी र सिँचाईको सेतुका रुपमा प्रयोग भएका फुगाड, लडे खोला, बगाने खोला, घट्टे खोला, बुढीसैन, तुसारे खोलामा आएको बाढीले सबै संरचना क्षतिविक्षत पारेको छ । बडोलतोला, बलेढुंगा, घट्टेगडा, लहरेला, चोक्टेबगर, तामाकोट, पुछुडेबाडा, सेराचौर, औल, बड्डाला, गैरा, पुच्छेगाउ, ओखलढुंगा, डाडागाउँ, बाइती, सिम र बाखरकोट, फडेराडा, राताखाल, कुमालवाडा बस्तीका बासिन्दालाई जोखिमबाट बचाउन विद्यालय र चउरमा राखिएको नगरले जनाएको छ । पहिरोमा हराएकालाई पाँच दिनसम्म प्रहरीले खोजे पनि भेटाउन सकेको छैन । बाढीपहिरोले कर्णाली करिडोरको फुगाडमा हालिएको बेलिब्रिज क्षतिग्रस्त छ । गाउँ पुग्ने सडक पनि सबै अवरुद्ध छन् ।