राउटेलाई युवा युवतीलाई सिप विकास तालीम
दैलेख : जङ्गलमा फिरन्ते जीवन बिताइरहेका लोपोन्मुख जाती राउँटेहरुको परम्परागत सिव युवा पुस्तामा हस्तान्तरण गर्न राउटे समुदायका युवा युवतीलाई सिप विकास तालीम दिइएको छ । लोप उन्मुख समुदायलाई आत्मनिर्भर बनाउन सङ्घीय सरकारको सशर्त विशेष अनुदान अन्तरगत लोपोन्मुख राउटे जाती सिप विकास कार्यक्रम अन्तरगत ४६ युवा युवतीलाई सिप विकास तालीम प्रदान गरिएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आर्थिक तथा राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालको सहजीकरणमा १५ दिने सिप विकास तालीम सञ्चालन गरिएको थियो । राउटे युवायुवतीलाई काठमो सामाग्री निर्माण बनाउने तालीम दिएपछि उत्पादन भएका सामग्रीको बजारीकरण राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालले लिने भएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यालय प्रमुख परशुराम आर्चायले नेपाल सरकारले लोप उन्मुख जाती राउटे समुदायलाई विशेष अनुदान दिएर सिप विकास र प्रविधि हस्तान्तरण कार्यक्रम अनुसार उक्त तालीम प्रदान गरिएको बताए । उनले राउटेहरूले पहिला पनि काठमा मधुस,पिर्का,थाल,कोसी,गिलास,बेलुन निर्माण गर्ने गरे पनि अहिलेको प्रविधिको प्रयोग गरेर त्यसलाई नै आकर्षक रूपमा निर्माण गर्न तालीम र प्रविधि हस्तान्तरण गरेको बताए ।
राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालका कार्यक्रम संयोजक भरतराज अधिकारीले जङ्गलमा फिरन्ते जीवन बिताइरहेका समुदायलाई राज्यको मूलधारमा ल्याउन र आत्मनिर्भर बनाउनका लागि आवश्यक सिप विकासका तालीम सञ्चालन गर्नु पर्ने बताए । उनले कुनै बेला पैसा छोए पाप लाग्छ भन्ने समुदाय नै अहिले पैसा माग्दै हिँड्न थालेपछि उनीहरूले निर्माण गर्ने काठका सामाग्रीलाई अहिलेको प्रविधि बाट निर्माण गर्दा आकर्षक देखिने र बजारीकरण गर्न पनि सजिलो गराउने उद्देश्यले उक्त तालीमको आयोजना गरिएको बताए ।उनले सिप सँगै काठमा सामाग्री निर्माणका लागि आवश्यक पर्ने बन्चरो,आरा,छिनो,बासो लगाएका सामाग्री हस्तान्तरण गरेको बताए ।
राउटे समुदायका मुखिया सुयनारायण सुर्य बहादुर शाहीले सरकारले आफूहरूलाई काठमा सामाग्री निर्माण अन्य औजार दिए पनि बन समितिले काठ काट्न नदिएको गुनासो गरे । उनले भने हामी जङ्गलको राजा हो हामीले आफूले मन लागेको रुख काटेर काठमा सामाग्री निर्माण गर्ने र अन्न सँग साट्ने हो हामीलाई बन समितिले काट्न नदिएपछि आफ्ना जनतालाई सरकारले दिएको भत्ताले नपुग्ने बताए ।
पश्चिम नेपालका दैलेख,अक्षाम,सुर्खेत,दाङ,सल्यान लगाएका जङ्गलमा फिरन्ते जीवन बिताइरहेका छन् । सुर्खेतको वीरेन्द्रनगरपालिका वडा नः १३ को निगलपानीमा बस्दै आएका राउटेहरूको जनसङ्ख्या १४८ रहेको छ ।