Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

युवालाई गाउँमै रोजगारी दिने तयारी

दैलेख :  कोरोना भाइरस सङ्क्रमणको चपेटामा परेका नारायण नगरपालिकाका युवालाई गाउँमै रोजगारी दिने तयारी गरिएको छ । कोरोना सङ्क्रमणको जोखिममा परेका मध्ये सबैभन्दा बढी गरिब, विपन्न र स्यवं कोरोना सङ्क्रमित भएर पनि कोरोना जितेका मध्ये १५० जनाको खोजी गरेर गाउँमै रोजगारी दिने अभियान सुरु भएको हो । नारायण नगरपालिका दैलेख जिल्ला लघु उद्यमी समूह सङ्घ डिमेगा दैलेखको संयुक्त आयोजनामा नारायण नगरपालिका भित्रका ६ वटा वडाहरूमा पहिलो पटक यो कार्यक्रम लागु गरिएको हो ।

कोरोना सङ्क्रमणका कारण रोजगारी गुमाए र कोरोना सङ्क्रमण भएर समाज बाटै अपमान खाइरहेको युवाहरूलाई सिस्नो प्रशोधन, अल्लो प्रशोधन, व्यावसायिक तरकारी खेती, स्थानीय जातको कुखुरा पालन, लगायतका कामहरूको बारेमा अवस्था विश्लेषण गरेर सोही अनुसारको काममा लगाउने तयारी सुरु गरिने लघु उद्यमी समूह सङ्घ डिमेगा दैलेखका अध्यक्ष कविराज खत्रीले बताए । उनले कोभिड –१९ बाट प्रभावित अति कमजोर वर्गको आयआर्जन सुरक्षित गर्न लागि संयुक्त राष्ट्र सङ्घको शीघ्र पहल कार्यक्रम अन्तरगत यो अभियानको सुवात गरिएको जानकारी दिए ।

विशेष गरेर दैलेखका विभिन्न भूभागहरूमा प्रशस्त उत्पादन हुने सिस्नो र अल्लो प्रशोधनका कार्यक्रमहरू पहिलो चरणमा लागु गरिने र सबैले आ आफ्नो क्षेत्रबाट रोजगारी प्राप्त गर्न सक्ने वातावरण तयारी गर्ने परियोजनाको लक्ष्य रहेको जनाइएको छ । दैलेखको नारायण नगरपालिकामा करिब २ हजार बढी युवाहरू अहिले भारतबाट जिल्लामा आएका छन् भने २ सय ८ जना कोरोना सङ्क्रमित भए पनि कोरोना जितेर घर फर्किएका छन् ।

नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्काले कोरोना भाइरस सङ्क्रमणका कारण भएको जागिर गुमेको र कोरोना सङ्क्रमण भएकाहरूलाई आय आर्जनमा जोड्ने कार्यक्रम सञ्चालन हुन राम्रो भएको बताए । उनले कोरोना बाट बढी प्रभावित भएका युवाहरूलाई रोजगारीमा जोड्ने र आयआर्जनमा टेवा पु¥याउनु अहिलेको आवश्यकता भएको हुँदा गैससहरुले पनि त्यस्ता खालका कार्यक्रम सञ्चालन गर्नु पर्ने बताए ।