कोरोना हटस्पट बाट सामान्य तर्फ फर्किदै दैलेख
दैलेख : कोरोना सङ्क्रमणको हटस्पट भएपछि सरकारले समेत रेड जोनमा राखेको दैलेखको जनजीवन सामान्यतर्फ उन्मुख भएको छ । गत चैत ११ देखी सरकारले गरेको लकडाउनलाई पूर्ण रूपमा अझै नखुलाए पनि दैलेखको जनजीवन सामान्य तर्फ बन्दै गएको छ । दैलेखमा ८ सय ४ जना कोरोना सङ्क्रमण मध्ये अहिले सम्म उपचार पछि घर फर्किनेको सख्या ७६७ पुगेको छ भने ३७ जनाको उपचार भइरहेको छ भने १ जनाको मृत्यु भएको छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले दैलेख गएको जेठ महिनाको ५ गते एक जनामा कोरोना सङ्क्रमण देखिएको दैलेखमा दुई महिनाको अवधिमा ८०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र त्यी मध्ये ७६७ जनाको उपचार भएर घर फर्केपछि जिल्लामा कोरोना सङ्क्रमणको दर घट्दै गएपछि लकडाउनलाई खुकुलो बनाएको बताए । उनले आइतबार जिल्लावासीहरूका लागि परिपत्र गर्दै सार्वजनिक यातायातमा ३ जना हिँड्ने र मोटर साइकलमा २ जना र बाह्य जिल्ला जानु पर्ने भए पासको व्यवस्था मिलाउने गरी लकडाउन खुकुलो बनाएको बताए ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थीर प्रसाद रेग्मीले दैलेखमा कोरोना सङ्क्रमणका कारण समस्या र सन्त्रासमा परेका स्थानीय कोरोना सङ्क्रमणको दर घट्दै गए पनि जीवनशैली सामान्य बन्दै गएको बताए । उनले जेठको महिना र असार महिनामा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या हेर्दा दैलेखमा समुदायमा पनि फैलियो भन्ने अनुमान गरे पनि त्यसो नभएको पाइएको बताए । उनका अनुसार जिल्लामा अहिले ३७ जनाको उपचार भइरहेको र उहाँहरूको स्वास्थ्य अवस्था सामान्य भएका कारण पनि अव छिटै डिस्चार्ज गरिने तयारी समेत गरेको छ ।
कोरोना सङ्क्रमण बढ्ने सक्ने जोखिमलाई मध्यनजर गरी गरिएको लकडाउन अन्य जिल्लामा पूर्ण रूपमा सञ्चालन भए पनि दैलेख जिल्लामा भने दिउसोको समयमा पूर्ण बजार खुलेका छन् । जिल्ला प्रहरीले बिहान ८ बजे देखी दिउसो ३ बजे सम्मका लागि पसल खुल्ने अनुमति पाएपछि व्यापारीहरू समेत खुसी भएका छन् । रोकाया फेन्सी पसलका सञ्चालक गंगाराम रोकायले बजार खुलेपछि आफूहरूलाई राहत भएको बताए । उनले सरकारले लकडाउनको अवधि भर पसल बन्द गराए पनि अव सामाजिक दुरीलाई यथावत् राखेर बजार पूर्ण रूपमा खोल्न दिनुपर्ने उनको माग छ ।
सरकारले लकडाउन गरेपछि बन्द भएका पसलहरू धमाधम खुल्न थालेपछि बजारमा मानिसको भिडभाड बिस्तारै बढ्दै गएको छ बजारमा दैनिक २ हजार भन्दा बढी नागरिक बजारमा हिँड्ने गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डिएसपी) हरि बहादुर वलीले प्रदेश सरकार र सङ्घीय सरकार बाट स्थानीय तहमा सञ्चालन भएका योजनाहरूको भुक्तानी लिन विभिन्न स्थानीय तह बाट सदरमुकाममा आएका कारण दैलेख सदरमुकाम भिडभाड बढी देखिएको बताए । उनले बजारमा हिँड्ने सबैलाई सुरक्षा सर्तकर्ता अपनाएर हिँडडुल गर्न आग्रह गरेको बताए ।