Loading... आजः शुक्रबार, चैत्र ७, २०८१
Trending

कर्मचारी र जनप्रतिनिधिमा कोरोना देखिए पछि सेवा प्रवाहमा समस्या


दैलेख :  जिल्ला सदरमुकाममा रहेको नारायण नगरपालिकामा दुई जनप्रतिनिधि र ७ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा प्रवाहमा समास्या भएको छ । जिल्ला अस्पताल दैलेखको प्रयोगशालामा गरिएको पिसिआर परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको थियो ।

सङ्क्रमण हुनेमा एक महिला जनप्रतिनिधि र एक वडाध्यक्ष रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोेकल पर्सन थीर प्रसाद रेग्मीले जानकारी दिए । उनले ७ जना कर्मचारीमा पनि कोरोना सङ्क्रमण देखिएको छ सबैको अवस्था सामान्य छ र सबै होम आइसोलेसनमा बसेका छन् भने दुई जना जनप्रतिनिधिहरू भने दैलेख अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन् ।

नगरपालिकाले असार १४ र १६ गते दुई चरणमा ४८ जना जनप्रतिनिधि र कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको थियो । जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिए पनि सेवा लिन आउने सेवा ग्राहीलाई सेवा प्रवाह गर्न समेत समस्या भएको बताइएको छ ।
नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले कोरोना भाइरस सङ्क्रमणका कारण नगरपालिकामा असहज प्ररिस्थितीका बिचमा सेवा दिइरहेको बताए । उनले आर्थिक वर्षको अन्तिम चरण भएका कारण उपभोक्ता समितिबाट भुक्तानी लिन आएका र अन्य कामको लागि कार्यालयमा आएका सर्वसाधारण हरूलाई सेवा प्रवाहमा समस्या देखिएको बताए ।

उनका अनुसार कार्यालयबाट हुने कामका लागि नगरपालिका अगाडी टेबुल राखिएको छ । सेवाग्राहीहरूले टेबुलमा फाइलहरू जम्मा गर्नुहुन्छ । उक्त फाइलहरू दोस्रो दिन कार्यालयले अध्ययन गरेर मात्र अगाडि बढाउने व्यवस्था मिलाइएको छ । यसले गर्दा कार्यालयको सेवा प्रभावित भएको छ ।
नारायण नगर प्रमुख रत्नबहादुर खड्काले जनप्रतिनिधि र कर्मचारीहरूमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाको सेवा प्रवाहमा समस्या भए पनि सहजरुपमा सेवा प्रवाह गर्न आफ्नै लागेको बताए । उनले असार मसान्त भएको र केही कर्मचारीमा कोरोना पुष्टि हुँदा कार्यालयमा सयौँको सङ्ख्यामा सेवाग्राहीको भिड लाग्ने गरेको कारण नगरपालिकाको गेटमै टेबुल राखेर फाइल संकलन गर्ने र अध्ययन पछि भुक्तानीको व्यवस्था मिलाउन आफूले कर्मचारीलाई निर्देशन दिएको बताए ।
फोटो ः नारायण नगरपालिका दैलेख । तस्बिर कमल शर्मा गोरखापत्र