Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

दैलेखमा ७०३ जनाले जिते कोरोना


दैलेख :  कोरोना भाइरस सङ्क्रमणको रेड जोनमा परेको दैलेख जिल्लामा पछिल्लो समय सङ्क्रमण पुष्टि हुने भन्दा कोरोना जितेर जानेको सङ्ख्या बढ्दै गएको छ । दैलेख जिल्लाका ११ स्थानीय तहमा आइतबार सम्म कोरोना सङ्क्रमण पुष्टि भएका सात सय ८६ जना मध्ये ७०३ जनाले कोरोना जितेर घर फर्केका छन् ।
स्वास्थ्य सेवा कार्यालय दैलेखले दिएको जानकारी अनुसार कोरोना सङ्क्रमित ७८६ मध्ये ६ सय ५५ पुरुष र ५५ जना महिला कोरोनाको जितेर घर फर्किएका छन् । ११ वटा स्थानीय तहमध्ये नारायण नगरपालिकाका २ सय ३९ सङ्क्रमितमध्ये २ सय २३ जना डिस्चार्ज भएका छन्। दुल्लु नगरपालिकाका ९२ जना सङ्क्रमितमध्ये ७२ जना डिस्चार्ज भएका छन्।

२१ जना कोरोना सङ्क्रमित रहेको आठबिस नगरपालिकामा २० जना डिस्चार्ज भएका छन् । यस्तै, ४ जना कोरोनाका बिरामी रहेको ठाटिकाँध गाउँपालिकामा ३ जना डिस्चार्ज भएका छन्। यता, १७ जना कोरोनाका बिरामी रहेको भैरवी गाउँपालिकामा ५ जना डिस्चार्ज भएका छन्। १ सय ६६ जना कोरोनाका बिरामी रहेको महाबु गाउँपालिकामा १ सय ६३ जना डिस्चार्ज भएका छन्।

नौमुले गाउँपालिकाका १ सय ४६ जना कोरोना सङ्क्रमितमध्ये १ सय ३९ जना डिस्चार्ज भएका छन्। भगवतीमाई गाउँपालिकाका १४ जना कोरोना सङ्क्रमित मध्ये ४ जना डिस्चार्ज भएका छन्। ७२ जना कोरोना सङ्क्रमित फेला परेको डुंगेश्वर गाउँपालिकाका ६६ जना डिस्चार्ज भएको स्वास्थ्य सेवा कार्यालयका कोरोना फोकल पर्सन थीर प्रसाद रेग्मीले बताए ।

सुर्खेतसँग सिमाना जोडिएको गुराँस गाउँपालिकामा फेला परेका ९ जना सङ्क्रमितमध्ये ८ जना डिस्चार्ज भएका छन्। दैलेखमा कोरोना सङ्क्रमणका कारण हालसम्म २ जनाले ज्यान गुमाइसकेका छन्। अहिले जिल्लामै पिसिआर मेसिनद्वारा कोरोना परीक्षण हुँदै आएको छ ।