Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

अध्यक्ष द्धयलाई मिल्न दवाव दिदै युवानेता


काठमाडौ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चुलिएपछि पार्टीका युवा नेताहरूले दुई अध्यक्षलाई मिल्न दबाब दिने कार्यक्रम तय गरेका छन् । कोरोना महामारी र सलहको समस्या विद्यमान भएका बेला सरकारको नेतृत्व गरेको दल आन्तरिक विवादमा फस्नु उचित नभएको भन्दै युवा नेताहरू दबाबको कार्यक्रम अगाडि बढाउने निर्णयमा पुगेका हुन् ।

आगामी सोमबारसम्म स्थायी कमिटी बैठक पनि सरेका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मिल्न केन्द्रीय कमिटीका सदस्यहरूले दबाब दिने योजना बनाएका हुन् । दबाब समूहमा दुवै पक्षका नेताहरू राख्ने तयारी भएको केन्द्रीय सदस्य नारदमुनी रानाले जानकारी दिए ।

दबाब समूहका लागि महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री पार्वत गुरुङको सक्रियतामा शनिबार केन्द्रीय सदस्यहरूको बैठक भएको छ । दुई अध्यक्ष नमिलेसम्म पार्टीको आन्तरिक विवाद कायमै रहन्छ, त्यसैले दुवैलाई मिल्न दबाब दिनेगरी कार्यक्रम बनाउन लागिएको केन्दीय सदस्य रानाले बताए ।