पहिरोमा पुरिएका ६ जनाको शव भेटियो
डडेल्धुरा : बझाङको केदारस्युँ गाउँपालिका–८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव भेटिएको छ। एकजना भने अझै बेपत्ता छन्। वडाध्यक्ष गणेशबहादुर बोहोराका अनुसार एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय बालक प्रयाग जेठारा र ७ बालिका अष्मिता जेठाराको शव भेटिएको छ। त्यस्तै, १५ वर्षीया बालिका सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको पनि शव भेटिएको हो।
२० वर्षीय गिरी जेठारा भने अझै बेपत्ता भएको वडाध्यक्ष बोहोराले जानकारी दिए। शुक्रबार राति वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका–८ को मल्लेसीका २० घर बगाएको उनले बताए। राति पहिरो आएको थाहा पाएपछि घरभित्र रहेका अन्यले भागेर ज्यान जोगाए पनि ७ जना भने पहिरोमा पुरिएका थिए। स्थानीयका २२ वटा भैँसी, ६५ वटा बाख्रा र २४ वटा गाइगोरु पनि पहिरोले बगाएको छ। ६५ घर परिवार बस्दै आएको बस्तीको बीच भागबाट पहिरो गएपछि गाउँ नै जोखिममा परेको छ।