Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

अक्षाममा २०९ जनामा कोरोना संक्रमण पुष्टि


अक्षाम :  कोरोना सङ्क्रमणको आशङ्कामा थ्रोट स्वाब परीक्षणका क्रममा शुक्रबार अछामका २०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अछामका विभिन्न स्थानबाट थ्रोट स्वाब सङ्कलन गरेर राष्ट्रिय प्रयोगशाला टेकु, पाटन अस्पताल र सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमण परीक्षण गरिएकोमा बिहान, दिउँसो र बेलुकी गरेर तीन चरणमा प्राप्त विवरणमा एकै दिन ठूलो सङ्ख्यामा सङ्क्रमित पुष्टि पाइएको छ ।

सङ्क्रमित हुनेमा साँफेबगर नगरपालिकामा ५२ जना, चौरपाटी गाउँपालिकामा २४ जना, ढकारी गाउँपालिकामा २७ जना, मङ्गलसेन नगरपालिकामा २९ जना, तुर्माखाँद गाउँपालिकामा १९ जना, मेल्लेख गाउँपालिका १५ जना नयाँ कोरोना सङ्क्रमित फेला परेका छन् । यस्तै बान्नीगढी जयगढ गाउँपालिकामा २९ जना, कमलबजारमा सात जना र पञ्चदेवल विनायक नगरपालिकामा छ जना नयाँ सङ्क्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीको भनाइ छ ।

कोरोना सङ्क्रमण पुष्टि भएको नतिजा आउने क्रम जारी रहेकोले विवरण भिडान भइरहेको बताइएको छ । सङ्क्रमित पुष्टि भएर स्वास्थ्य अवस्था सामान्य रहेका व्यक्तिलाई सम्बन्धित स्थानीय तहमा निर्माण गरिएका आइसोलेसनमा राख्ने काम भइरहेको कार्यालयको भनाइ छ । स्वास्थ्यमा प्रतिकूलता आएमा स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमण उपचार गर्ने तोकिएको जिल्ला अस्पतालमा ल्याएर उपचार गरिने बताइएको छ ।