कर्णालीमा कोरोना सङ्क्रमण तेहेरो अङ्कमा
दैलेख :कर्णालीमा कोरोना सङ्क्रमण तेहेरो अङ्कमा बढिरहेको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणमा एक सयजना नयाँ कोरोना सङ्क्रमितहरू फेला परेपछि कर्णालीमा कुल ४८९ जना पुगेको छ । बिहीबारदेखि यहाँ तेहेरो अङ्कमा कोरोना बढेको छ । हिजो मात्रै ११४ जना नयाँ फेला परेको थियो ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९७ जना र सुर्खेतस्थित प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा तीन गरी १०० जना नयाँ कोरोना सङक्रमित पुष्टि भएको हो । तीमध्ये दैलेखमा मात्रै ९१ जना थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखपछि जुम्लामा तीन, हुम्ला, सुर्खेत र जाजरकोटमा एकरएक थपिएका छन् भने गोरखा, रामेछाप र दोलखाका एकरएक जनाको पनि कोरोना पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार कर्णालीमा गरिएको परीक्षणमा फेला परेका कुल ४८९ जनामध्ये कर्णाली प्रदेशका आठ जिल्लाका ४७४ जना र बाँकी १५ जना अन्य प्रदेशका छ जिल्लाका रहेका छन् । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले दैलेखमा दुल्लु नगरपालिकामा २७ जना, महाबु गाउँपालिकामा ६४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । यस्तै, जुम्लाको चन्दननाथ नगरपालिकामा तीन जना, हुम्ला चङ्खेली गाउँपालिकाका एक जना, सुर्खेतको पञ्चपुरी नगरपालिकाका एक जना र जाजरकोटको भेरी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको उनको भनाइ छ ।