दैलेखमा सुरु भयो कोरोनाविरुद्धको खोप अभियान
दैलेख : देशभरका स्वास्थ्य सेवा कार्यालय र खोप केन्द्र बाट कोरोना बिरुद्धको खोप लगाउने अभियान अन्र्तगत दैलेखमा पनि ओप अभियान संचालन भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेख जिल्ला अस्पतालमा कार्यरत डा. जगत थापाले कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएका छन ।
बुधबार अस्पतालमा आयोजित कोरोनाविरुद्धको कोभिशिल्ड भ्याक्सिन खोप शुभारम्भ कार्यक्रममा डा. थापालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पहिलो खोप दिएर खोप अभियान सुरु गरिएको हो । डा. थापा दैलेखमा कोरोना खोप लगाउने पहिलो व्यक्ति बनेका छन । त्यसपछि स्वास्थ्य कार्यालयका खोप अधिकृत थीरप्रसाद रेग्मी र अन्य स्वास्थ्यकर्मी तथा अस्पतालमा कार्यरत कर्मचारीहरुले पनि खोप लगाएका छन् ।
खोप लगाएपछि प्रतिक्रिया दिँदै डा. थापाले खोप लगाउँदा कुनै प्रकारको असर तथा दुखाई र स्वास्थ्यमा नकारात्मक असर देखा नपरेको बताए । उनले खोप प्रति शंका नगरी निर्धक्क भएर खोप लगाउन डा. थापाले सुझाव दिए । उनले खोप लगाए सँगै दैलेखमा पनि खोप दिन थालिएको हो । दैलेख अस्पताल खोप केन्द्रबाट खोप दिन थालिएको हो । कोरोनाविरुद्धको कोभिशिल्ड भ्याक्सिन खोप शुभारम्भ कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले नेपालमा कोरोना संक्रमण देखिएको एक वर्षपछि नेपालीले कोरोनाविरुद्धको खोप लगाउन पाएको बताए । उनले खोपका विषयमा अफवाह फैलाइएजस्तो कुनै साइड इफेक्ट नहुने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले भारतले सेरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप नेपाललाई सहयोग गरेको भन्दै भारत सरकारलाई धन्यवाद समेत दिए । उनले जिल्लाका नागरिकहरुलाई आवश्यक पर्ने खोपको परिणामबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराईसकेको बताउदै सबैलाई खोप अभियानमा सहभागी हुन आग्रह गरे ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रसाद रेग्मीले छिमेकी देश भारतबाट अनुदान स्वरुप प्राप्त खोप नेपाल सरकार मार्फत दैलेखलाई पहिलो चरणका लागि ४ हजार ४ सय ८० डोज खोप प्राप्त भएको बताए । उनले नेपालले भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप प्रयोग गरेको हो । यो खोपको १० लाख डोज भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो । यो खोप पहिलो चरणमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा अग्रपंतीमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी, सरकारी गैरसरकारी तथा नीजि क्षेत्रमा कार्यरत कर्मचारी, स्वास्थ्य संस्थामा कार्यरत सहयोगी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, सरसफाईकर्मी, एम्बुलेन्स तथा शव वाहान चालक, कोरोना भाइरसबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा आश्रीत नागरिक तथा कर्मचारीलाई दिइनेछ ।