संसद् विघटनविरुद्ध दुबै निर्वाचन क्षेत्रमा काग्रेसको प्रदर्शन
दैलेख : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटनको विरोधमा सोमबार दैलेखमा पनि प्रदर्शन गरेको छ। नेपाली कांग्रेस दैलेखले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जिल्लाका दुई वटै निर्वाचन क्षेत्रमा विरोध प्रर्दशन गरिएको जनाएको छ।
कांग्रेसले दैलेख निर्वाचन क्षेत्र नं। १ को दैलेख सदरमुकाम र निर्वाचन क्षेत्र नं २ को दुल्लुमा विरोध प्रर्दशन गरेको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेको विरोधमा कांग्रेसले एकैदिन मुलुकभर सडक प्रदर्शन गर्ने कार्यक्रम अन्तरगर्त दैलेखमा पनि प्रर्दशन गरिएको कांग्रेस दैलेखले जनाएको छ।
दुई वटै निर्वाचन क्षेत्रमा भएको प्रर्दशन सहितको सभालाई जिल्ला स्तरीय नेताहरुले सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा कांग्रेस नेताहरुले ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गरेका छन्।
दैलेख निर्वाचन क्षेत्र नं १ को दैलेख सदरमुकाममा भएको प्रर्दशन सहितको सभालाई सम्बोधन गर्दै काँग्रेस दैलेखका सभापति कृष्णकुमार बिसीले ओली सरकारको संसद विघटन गर्ने कार्य असंवैधानिक र अलोकतान्त्रिक भएको उल्लेख गरे। उनले संसद् विघटन, सर्वसत्तावाद र भ्रष्टाचारको विरोध तथा लोकतान्त्रिक संविधान रक्षाको पक्षमा विरोध प्रर्दशन गरेको बताए। सभालाई नेपाली कांग्रेस दैलेखका पूर्व सभापति जगतजंग थापा, क्षेत्रीय सदस्य मन्जु पाण्डे, युवा नेता विनोद श्रेष्ठ लगाएतले सम्बोधन गरेका थिए।