Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे १२ औ पटक मन्त्रिपरिषद बिस्तार

अर्थमा विष्णु, सहरी विकासमा कृष्णगोपाल, महिलामा लीलानाथ

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका क्रममा रिक्त रहेका तीनवटा मन्त्रालयमा मन्त्रीहरु नियुक्त गरेका छन्। उनले १२ औं पटक मन्त्रिपरिषद् विस्तार गर्दै रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन्।

दुई मन्त्रीको जिम्मेवारी पनि ओलीले हेरफेर गरेका छन्। अर्थ मन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिराहका लीलानाथ श्रेष्ठलाई नियुक्त गरेका छन्। त्यस्तै उनले सञ्चारमन्त्रीमा पार्वत गुरूङलाई नियुक्त गरेका छन्। पार्वत गुरुङ यसअघि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा थिए।

तीनै जना मन्त्रीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नियुक्त गरेकी छन्। मन्त्रीहरु नियुक्त गर्नुअघि प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटारमा बुधबार साढे दुई घण्टा लामो छलफल गरेका थिए।

लामो समयदेखि दुईजनाबीचको छलफलपछि नयाँ मन्त्री नियुक्त भएका हुन्। नवनियुक्त मन्त्रीहरुको सपथ सकेसम्म आजै साँझ गराउने तयारी छ। ओलीले यसअघि चर्चामा आए जस्तो मन्त्रिमण्डलमा व्यापक फेरबदल गरेनन्।