Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

राजधानीको प्रस्ताव बिरुद्ध प्रदेश ५ प्रदेश सभामा बैठकमा प्रतिपक्षिद्वारा तोडफोड,

बुटवल :  प्रदेश ५ सरकारले प्रदेश सभामा प्रस्तुत गरेको प्रदेशको राजधानी र नामको प्रस्ताव उपर सोमबार प्रदेश सभामा औपचारिक रुपमा छलफल सुरु भएको छ । छलफल सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सदन अवरोध गर्दै कुर्सी तोडफोड गरेका छन ।
सभामुख पूर्णवहादुर घर्तीले वैठक अघि बढाएपछि कांग्रेसका सांसदहरुले दुवै बैठकको सुरुदेखि अन्त्यसम्म नै नाराबाजी गरेका थिए । त्यसक्रममा सांसदहरुले रोष्टम अघि नाराबाजी गर्दै बैठक कक्षका कुर्सी तोडफोड गरेका थिए ।

आक्रोशित बिपक्षीहरुले सभामुखमाथि समेत प्रहारको प्रयास गरेका थिए । सभामुख पूर्णबहादुर घर्तीले प्रहारबाट आफूलाई भौतिक क्षति भने नभएको बताए । प्रदेश सभाको मंगलवारको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने र मंगलवार नै प्रदेशको राजधानी र नामका विषयमा सरकारको प्रस्तावमाथि मतदान गर्ने कार्यसूचि रहेको सत्तारुढ नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

यता सोमवार प्रदेश ५ प्रदेश सभाको ३० औं बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजी र अवरोधका वीच सम्पन्न भएको छ । बैठक सुरु हुनासाथ नेपाली कांग्रेस र जनता समाजबादी पार्टीका सांसदहरुले विरोध जनाएपछि सभामुख पूर्णवहादुर घर्तीले कांग्रेसका प्रदेश संसदीय दलका नेता बीरेन्द्रकुमार कनौडियालाई बोल्न समय दिएका थिए । कांग्रेस नेता कनौडियाले सरकारले एकलौटी ढंगले प्रदेश राजधानी सार्ने प्रस्ताव प्रदेश सभामा प्रस्तुत गरेकोमा विरोध जनाउँदै प्रदेश सरकारको उक्त प्रस्तावको विरोध गरेका छन ।
उनले प्रदेश राजधानी बुटवलबाट अन्यत्र सार्नुपर्ने बाध्यता किन आयो भन्ने प्रश्न गर्दै त्यसको स्पष्ट जवाफ दिन प्रदेश सरकारलाई चुनौति दिए । कनौडियाले सम्बाद र सहमतिको विकल्प हुँदाहुँदै एकलौटीरुपमा प्रदेश सरकारले ल्याएको प्रस्तावले लोकतन्त्रको उपहास गरेको आरोप लगाएका छन । कनौडियाले बोलेर सकेपछि सभामुखले प्रदेश सरकारको प्रस्ताव छलफलका लागि अघि बढाउँदा नाराबाजी भएपछि पहिलो सत्रको वैठक केही समय स्थगित गरेका थिए । करिव एक घण्टापछि सुरु भएको सदनको प्रकृया प्रारम्भसंगै कांग्रेसका सांसदहरुले नाराबाजीसंगै कुर्सी तोडफोड गरेर सदनमा अवरोध गरेपनि सभामुख घर्तीले नेकपाका सांसद भोजप्रसाद श्रेष्ठलाई बोल्न समय दिए । ।
सांसद श्रेष्ठले प्रतिपक्षी दलले गरिरहेको विरोधको सम्मान गर्न आग्रह गर्दै संसदीय मूल्य र मान्यता अनुसार सदन चलाउन सभामुखलाई आग्रह गरे ।
उनले प्रदेश सरकारलाई जनताको अधिकार खोस्ने अधिकार नभएको भन्दै अझैपनि प्रदेशको राजधानीको विषयमा सरकारले पुनर्विचार गर्नु पर्ने बताए । । नेकपाका अर्का सांसद विष्णु पन्थीले प्रदेश सरकारको लुम्विनी प्रदेश नामकरण गर्ने प्रस्तावप्रति पूर्ण सहमति जनाउँदै राजधानीको विषयमा पुनर्विचार गर्न आग्रह गरेका थिए । उनले भूगोल, ऐतिहासिकता र शाक्यमुनिको ऐतिहासिक राजधानी, तीन हजार बर्ष पुरानो शहर भएर पनि अहिले प्रदेशकै सवैभन्दा विकासमा पछि परेकोले कपिलवस्तुलाई प्रदेशको राजधानी वनाउन प्रदेश सरकारसंग माग गरे ।
जनता समाजबादी पार्टीका सांसद सहर्षराम यादवले मधेश आन्दोलनको भावनाको सम्मान गर्दै र भूगोलका आधारमा पनि प्रदेशको राजधानी कपिलवस्तु हुनुपर्ने आफूहरुको माग गरेको बताए । राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले प्रदेश सभा स्थापना गर्दागर्दै आफूहरुले संघीयता नेपालका लागि अफापसिद्ध हुन्छ भन्दा अरु सांसदहरुले हाँसोको विषय वनाएको स्मरण गर्दै बल्ल संघीयता ठिक छैन भन्ने नेपाली जनताले बुझ्दै गएको धारणा राखेकी छिन । उनले संघीयता नै खारेज गर्ने आफ्नो पार्टीको धारणा रहेको बताउँदै प्रदेशको नामका विषयमा कुनै विमति नरहेको र राजधानीका विषयमा देखिएको विवाद समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएकी थिइन । ।
सोमवारकै बैठकमा प्रदेश सभाका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको प्रस्तावका पक्षमा मतदान गर्न सवै सांसदहरुसंग आग्रह गरेका थिए ।
उनले संसदीय परम्परामा विरोध स्वाभाविक प्रकृया भएपनि सभामुखमाथि नै प्रहार गर्ने र बैठक कक्षका कुर्सी तोडफोड गरेर कांग्रेसले अलोकतान्त्रिक चरित्र प्रकट गरेको आरोप लगाए । यसैवीच प्रदेश सभाको छैठौं अधिवेशनको ३१ औं बैठक मंगलवार १२ बजे बोलाइएको छ ।