Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

बिउँ पाउँदा खुसी भए गुराँसका किसान


दैलेख  :  कोरोना भाइरसको महामारी कारण रोजगारी गुमाएर स्वदेश फर्किएर घरमै बसेका युवा र विपन्न र एकल महिलालाई आलुको बिउँ वितरण गरिएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, गुराँस गाउँपालिकाको आर्थिक सहयोगमा महिला सशक्तीकरण मञ्च नेपालको साझेदारीमा सञ्चालन भएको कोभिड –१९ रेस्पोन्स सोसियो इकोनोमिक रिकोभरी कार्यक्रम मार्फत गुराँस गाउँपालिका वडा नः ४,५,२,७ का तीन सय घर परिवारलाई प्रति घर ५० केजी आलुको बिउँ,काउली,बन्दा र भाजीको बिउँ शत प्रतिशत अनुदानमा सहयोग गरिएको हो ।

उर्वर खेतबारी बाझै राख्ने र आयातित आलु किनेर खाने गरेका त्यहाँका किसानलाई व्यावसायिक रूपमा आलु खेती तर्फ आकर्षण गर्ने र उनीहरुको आय आर्जनमा टेवा पु¥याउने उद्देश्यले आलुको बिउँ सहयोग गरिएको बताइएको छ । महिला सशक्तीकरण मञ्चका कृषि प्राविधिक अधिकृत मोहन आर्चायले महामारीको बेला भएको रोजगारी गुमेको र घरमा आम्दानीको स्रोत नभएका विपन्न युवा र एकल महिलालाई आलु,काउली बन्दा र भाजीको सागको बिउँ दिएर उनीहरुलाई व्यावसायिक रूपमा खेती गर्न उत्प्रेरित गर्ने लक्ष्यका साथ सहयोग गरिएको बताए ।उनले देशमा भएको बन्दाबन्दीका कारण सामान्य लगाउने बिउँ नपाएका किसानहरूलाई घरमै वितरण गरेपछि उहाँहरू खुसी भएको बताए ।

गुराँस गाउँपालिका वडा नः ४ बराहका भीम बहादुर विकको कोरोना महामारीका कारण रोजगारी गुमेपछि आफूहरू समस्यामा परेको बताए । उनले चैत महिना देखी केही काम पाएका छैनौ बालबालिका र आफूलाई बिहान बेलुका छार्क टार्न मुस्किल हुने अवस्था आएको बताए । उनले भन्नुभयो घरमा खान लाई मात्र आलु खेती लगाउने गरेको भए पनि महामारीका कारण यो वर्ष धेरै तरकारी खेती गर्ने योजना बनाएको थिए । बिउँ किन्न समेत साहु बाट ऋण निकाल्नु पर्ने अवस्था थियो एक संस्थाले पैसाको अभाव भएको बेला कार्डिनल जातको आलुको बिउँ दिएपछि आफुुले अव व्यावसायिक रूपमा तरकारी खेती गर्ने तयारीमा छु ।
वडा नः ४ की लालीगुराँस तरकारी ताजा समूहकी उपाध्यक्ष हिरा गुरुङले श्रीमान् भारतमा जाने र त्यहाँ ज्यालादारी काम गरेर पैसा पठाएपछि त्यही बाट खाना खाने गरेको भए पनि कोरोना महामारीका श्रीमान् घर फर्किएपछि आफूहरू सँग बिउँ किन्न नसक्ने अवस्था भएको बेला संस्थाले बिउँ दिएर सहयोग गरेको भन्दै धन्यवाद दिए । उनले समूहमा रहेका २५ जनालाई जनही ५० केजी आलुको बिउँ दिएको बताए ।

महिला सशक्तीकरण मञ्चका कार्यक्रम संयोजक गणेश रावतले वैदेशिक रोजगारी बाट फर्केका र रोजगारी गुमाएका युवाहरूलाई उत्पादनमा जोड्नका लागि तीन सय जनालाई बिउँ दिएको र अन्य एक सय जनालाई पशुपालन कुखुरा,बाख्रा वितरण गर्न लागेको बताए । उनले भने समूहका सदस्यहरूलाई आत्मनिर्भर बनाउन बिउँ र प्राविधिक सहयोग गर्ने र पशुपालन तर्फ बाख्रा ,कुखुरा वितरण गरिएको बताए ।

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम ,गुराँस गाउँपालिकाले गाउँपालिका वडा नः ४,५,२,७ चार सय युवालाई आय आर्जनमा जोडनका लागि सयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम मार्फत एक करोड ३० लाख र गुराँस गाउँपालिकाले ५१ लाख रकम खर्च गर्ने बताइएको छ ।