Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

कोराना संक्रमणका कारण बढ्दै ज्यान गुमाउनेको संख्या


काठमाडौँ :  लकडाउन खुलेयता कोरोना संक्रमण तीव्र गतिमा फैलिएसँगै ज्यान गुमाउनेको संख्यामा पनि ह्‍वात्तै वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्‍वर गौतमले बुधबार बताए अनुसार पछिल्लो २४ घण्टामा आठजनाले ज्यान गुमाएका छन्। पछिल्लो समय ज्यान गुमाउनेमा युवा र प्रौढ उमेर समूहका पनि रहेका छन्। पछिल्लो २४ घण्टामा ज्यान गुमाएकामध्ये २ जना ४० वर्षमुनीका छन् भने अन्य ६ जना ४० वर्षमाथिका छन्। गौतमका अनुसार ज्यान गुमाउनेमध्ये तीनजना ६० वर्षमाथिका छन्।

गौतमले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं महानगरपालिका–१२ टेकु निवासी ७८ वर्षीया महिलाको किस्ट मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको छ। त्यसैगरी कोरोनाबाट एकजना युवकले पनि ज्यान गुमाएका छन्। धादिङको नीलकण्ठ नगरपालिका– १४ निवासी ३२ वर्षीय पुरुषको कोरोना संक्रमणपछि ह्याम्स अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ। कोरोनाबाटै धनुषाको जनकपुर उपमहानगरपालिका(१ का ७८ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा बुधबार बिहान मृत्यु भएको छ। त्यस्तै जनकपुर उपमहानगरपालिका–१ निवासी ३८ वर्षीया महिलाको पनि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका बुधबारै ज्यान गएको छ। उता सप्तरीको डाक्नेश्‍वरी(८ घर भई हाल राजविराज नगरपालिका(६ सिरहा रोडमा बस्दै आएका ७२ वर्षीय पुरुषको पनि मंगलबार राति कोरोनाबाट ज्यान गएको छ।

मोरङमा पनि कोरोनाबाट ज्यान गुमाउने थपिएका छन्। मोरङको बुढीगंगा गाउँपालिका–२ गंगाचोक निवासी ५५ वर्षीय पुरुषको उपचारकै क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको छ। कोरोनाबाट कपिलवस्तुमा पनि एकजनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका–२ निवासी तौलिहवाका ४२ वर्षीय पुरुषको बुधबारै बिहान बुटवल कोरोना विशेष अस्पतालमा ज्यान गएको छ। अर्कातिर बारा कलैया उपमहानगरपालिका निवासी ७५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणपछि उपचारका क्रममा ललितपुरको किस्ट मेडिकल कलेजमा निधन भएको छ। यसरी बुधबारसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९१ पुगेको छ।