Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

भगवतिमाई गाउँपालिकामा बाख्रा स्रोत केन्द्र बन्दै

दैलेख  :  जिल्लाको भगवतिमाई गाउँपालिकालाई बाख्रो स्रोत केन्द्रको रूपमा विकास गर्न लागिएको छ । परम्परागत रूपमा बाख्रा पालन व्यवसाय गरिरहेका किसानहरूका लागि कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र गाउँपालिकाको साझेदारीमा गाउँपालिकालाई बाख्रा स्रोत केन्द्रका रूपमा विकास गर्न लागिएको हो । कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको १ करोड र गाउँपालिकाको ६५ लाख लागतमा किसानलाई व्यावसायिक बनाउँदै बाख्रा स्रोत केन्द्र निर्माण थालिएको हो ।

गाउँपालिकाका किसानले उत्पादन गरेका खसी,बोका,र बाख्रा वितरणका लागि स्रोत केन्द्रमा जिम्मा लिने र किसानलाई उत्पादनमा गर्न प्रेरित गर्ने र उत्पादन गरेका खसी,बोका स्रोत केन्द्रमा खरिद गर्ने प्रावधान बनाएपछि किसान समेत उत्साही भएका छन् । किसानले उत्पादन गरेका खसी,बोकाले मूल्य नपाउने र बजारमा ल्याउन समेत समस्या हुने विगतको समस्या समाधान हुनेमा किसानहरू विश्वस्त भएका छन् ।

बाख्रा पालक समूहका अध्यक्ष मान बहादुर थापाले वडा भरी ५० जना किसानले न्यूनतम एक किसानले ४० देखी १५० वटा बाख्रा पालन गरेर व्यावसायिक बाख्रा पालनमा गरेको बताए । उनले अव उन्नत खोर निर्माण गरेर व्यावसायिक बाख्रा पालन तर्फ गाउँका अन्य किसान पनि लागेको बताए । उनले भने अहिले किसानलाई खोर निर्माण गर्न १ लाख रुपैयाँ नगद दिएको छ । समूहमा ५० वटा उन्नत वितरण गरिएको छ । वडा नः १ मा रहेको २२ रोपनी जग्गा बाट बढाएर ५० रोपनीमा बाख्रा स्रोत केन्द्र निर्माण गर्ने तयारीमा समूह लागेका छौ ।

जिल्ला पशु अस्पताल दैलेखका निमित्त कार्यालय प्रमुख भीम बहादुर विष्टले वडा कार्यालयको २० रोपनी र पशु सेवा कार्यालयको महातत्मा रहेको ७३ रोपनी जग्गालाई समेत स्रोत केन्द्र निर्माणमा प्रयोग गरिने बताए । उनले बाख्रा स्रोत केन्द्र निर्माण गरी युवाहरूलाई रोजगारी दिने र बजारीकरणका लागि देशका विभिन्न जिल्लामा समन्वय गर्ने गरी काम अगाडी बढाइएको बताए ।

भगवतिमाई गाउँपालिका दैलेखका अध्यक्ष दान बहादुर थापाले गाउँपालिकाको वडा नः १ पगनाथमा ५० जना किसानको समूह निर्माण गरे बाख्रा स्रोत केन्द्र निर्माण गर्नका लागि काम सुरु भएको बताए । उनले गाउँपालिका र कर्णाली कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको महातत्मा २ वटा खोर निर्माण गरिएको जानकारी दिए ।