देशभर २४ घण्टामा १५६ जनामा कोरोना संक्रमण
काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर २७ वटा प्रयोगशालामा तीन हजार ७ सय ४१ को पिसिआर परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १७ हजार ६ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आइतबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ५८ छ भने हालसम्म निको हुनेको कुल संख्या ११ हजार ६ सय ९५ रहेको छ।
अहिलेसम्म प्रदेश नम्बर १ मा ८ सय ३०, प्रदेश नम्बर २ मा ४ हजार ५ सय ५१, बागमती प्रदेशमा ८ सय ५६ र गण्डकी प्रदेशमा १ हजार ३ सय ८१ जनामा संक्रमण देखिएको छ। यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ७२, कर्णाली प्रदेशमा १ हजार ८ सय १४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५४ जनामा संक्रमण देखिएको छ। अहिले देशका विभिन्न आइसोलेसनमा ५ हजार ९ सय २३ जना संक्रमित उपचाररत रहेका छन्। अहिले देशभरीका क्वारेन्टिनमा २२ हजार ६ सय ६१ जना रहेका छन्। नेपालमा आइतबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।