Loading... आजः मङ्लबार, बैशाख १८, २०८१
Trending

कर्णालीका होटल व्यवसाय सङ्कटमा

सुर्खेत :  कर्णाली प्रदेशमा बन्दाबन्दी अवधिभर होटल व्यवसायमा एक अर्ब बढीको नोक्सानी भएको छ । चैतको दोस्रो सातादेखि असार मसान्तसम्मको अवधिमा साना तथा ठूला होटल व्यवसायमा एक अर्ब बढीको नोक्सानी भएको तथ्याङ्क होटल व्यवसायीहरूसँग रहेको छ ।

कर्णालीमा साना र ठूला गरी करिब दुई हजार पाँच सय होटलहरू छन् । बन्दाबन्दीको चार महिनामा यहाँका होटलहरू पूर्णरुपमा ठप्प भएकोले करिब एक अर्ब बढीको नोक्सानी व्यहोर्नुपरेको होटल व्यवसायी सङ्घ कर्णाली प्रदेशले जनाएको छ । प्रदेश अध्यक्ष तर्कबहादुर शाहीले होटल व्यवसायको लगानी उठान अब नसकिने अवस्थामा पुगेको बताए । दुई हजार पाँच सय होटलमा करिब पाँच हजार जनाले रोजगारी पाएका छन् । बन्दाबन्दीमा होटलहरू बन्द हुँदा त्यहाँ कार्यरत जनशक्तिलाई पनि अहिलेसम्म तलब दिन नसकिएको उनको भनाइ छ ।
होटलहरू सञ्चालन हुने सिजनमा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी गरेको थियो । चैतदेखि कर्णालीमा रारा, सेफोक्सुण्डोलगायत महत्त्वपूर्ण पर्यटकीय स्थलहरू अवलोकनका लागि पर्यटकहरू घुईंचो लाग्ने गर्दथ्यो । पैदल तथा सडकबाट रारा जानेहरूका लागि प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगर ट्रान्जिट प्वाइन्ट थियो । तर बन्दाबन्दीले होटलहरू ठप्प भएपछि होटल व्यवसाय नै धरापममा परेको होटल व्यवसायी सङ्घका कर्णाली प्रदेश अध्यक्ष तर्कबहादुर शाहीले बताए न।

होटल व्यवसायीहरू नराम्ररी थला परेकोले होटल व्यवसायीहरूलाई राहतका कार्यक्रमहरू ल्याउनुपर्ने माग होटल व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष गोरख रावतले गरे । होटल सञ्चालनका लागि बैङ्कको ब्याज, कर्मचारीहरूलाई तलब, घरभाडालगायतमा राहत दिनुपर्ने भन्दै उनले नत्र होटल व्यवसाय सङ्कटमा व्यवसायीहरू पलायन हुने अवस्था आउने जानकारी दिए