चिहान (कविता)
राजकुमार शर्मा
आशा
भरोसा
योजना
बिश्वास
सपनाको पनि त
अकालमै मृत्यु हुन्छ ।
आशाहरूको ठुलो पर्खाल चिन
या भरोसाको खम्बाहरू ठड्याउ
वा योजनाहरूको जाल बुन
बिश्वासको धरहरा उठाउ
।।।
थाहै नदिई जिन्दगीमा पनि त
महाँ भुकम्प आउँछ
भत्काउँछ आशाको पर्खाल
टुटाइदिन्छ भरोसाको खम्बाहरू
चुटाइदिन्छ योजनाको जालहरू
ढलाइदिन्छ बिश्वासको धरहरा
अनि बनाइदिन्छ जिन्दगी
महाँभुकम्प पछिको
अर्धमृत सहर जस्तो कुरूप
।।।
सजायको सपनाहरू पनि त
निधारबाट फुत्त चिप्लन्छन्
जसरी
हातबाट फुत्त फुत्किन्छ माछा
अनि
पछारिन्छन् जिन्दगीको सतहमा
र
फुट्छन झर्याम झुरूम
सिसा फुटे जसरी।
अनि
केवल बाँकी रहन्छ
अस्थिपन्जर आकृति ।
।।।
हाम्रो हृदय पनि
तमाम सपनाहरूको
स्थाइ चिहान हो ।
नपत्याए उत्खनन गरौँ
हामी भेट्ने छौ
तमाम सपनाहरूका अस्थिपन्जर
जसले हामीलाई पलपल लखेट्छन्
रूवाउँछन् ।
र स्तब्ध पार्छन् ।