४२ हजार नागरिक जिल्ला भित्रिने प्रशासनको प्रक्षेपण
दैलेखः कोरोना भाइरस संक्रमण रोकथाम तथा जोखिमलाई न्युनीकरण गर्नका लागि सरकारले गरेको बन्दाबन्दीको आज दिन पुगेको छ । देशका बिभिन्न नाका हुदै दैलेखका नागरिकहरु आउने क्रम रोेकिएको छैन । पछिल्लो एक साता मात्र दैलेखमा ५ हजार भन्दा नागरिक जिल्ला भित्रिएका छन । दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीका अनुसार दैनिक २ हजारको हाराहारीमा नागरिकहरु भित्रिरहेको बताए । उनले यसरी नै दैलेख आउने नागरिकको तथ्याङक हेर्दा झण्डै ४२ हजार नागरिकहरु भारतबाट दैलेख आउने जिल्ला प्रशासन कार्यालय दैलेखले प्रक्षेपण गरेको बताए ।
दैलेखका चार स्थानीय तहमा कोरोना भाइरस संक्रमण फैलिएको छ । एक महिला सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । आठै जना भारतबाट आएका हुन् । संक्रमितमध्ये एक जना सुर्खेत स्थित कोरोना विशेष अस्पताल र अन्य सात जनालाई दैलेख सदरमुकाम स्थित सरस्वती माविमा निर्माण गरिएको आइसोलेसनमा राखिएको छ । जिल्लाभर ४० बेडको आइसोलेसन निर्माण गरिएको छ । झण्डै दुई हजार एक सय जना मात्रै क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नाकामा ठूलो सास्ती खेपेर जन्मथलो आएकाहरु क्वारेन्टाइनमा पनि उस्तै दुःख पाएको बताएका छन् ।मंगलवार साझ क्वारेन्टाइनमा खोनीपानी र बत्तिको व्यबस्थापन नभएको भन्दै स्थानीय सरकारको बिरुद्ध उनीहरुले नाराबाजी समेत गरेका छन । उनीहरुको भनाई अनुसार क्वारेन्टाइनमा खानेपानी, शौचालय, आड्ने ओछ्याउने देखि खानपिनको पनि समस्या छ । सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले भारतबाट फर्किएकाहरुलाई सिधै क्वारेन्टाइनमा पठाउने गरिएको बताए । उनले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई स्ंयम अनुशासित भएर स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् ।
किट नै सकियो
भारतबाट फर्किनेको सँख्या बढे पनि आरडीटी किट र पीसीआर परीक्षणका लाग भीटीएम अभाव हुँदा परीक्षणमा समस्या देखिएको छ । दैनिकजसो एक हजार नागरिकहरु दैलेख भित्रिएपछि परीक्षण किट अभाव भएको हो । स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार ३० वटा आरडीटी र एक सय ६० वटा भीटीएम किट मात्र मौज्दात छ । यी किट शंकास्पद्को परीक्षणका लागि राखिएको उनले बताए ।
‘किट अभाव हुँदा भारतबाट फर्किनेहरुको कसरी परीक्षण कसरी गर्ने भन्ने अन्यौलता सृजना भएको छ । दैलेखमा १०/१० हजार आरडीटी किट र भिटिएम आवश्यक देखिएको छ,’ रेग्मीले भने । साथै थप किटका लागि प्रदेश र संङ्घीय सरकारसँग माग गरिएको उनले बताए ।