Loading... आजः मङ्लबार, भदौ २५, २०८१
Trending

कर्णाली करिडोरमा खटिए ५५६ कामदार


सिमकोट : राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण कार्यले बन्दाबन्दी जारी रहेकै बेला तीव्रता पाएको छ । बन्दाबन्दीबीच करिडोरले काम गर्ने अनुमति पाएलगत्तै यसअघि काम गर्दैआएका कामदारबाटै कामलाई तीव्रता दिन नेपाली सेना सफल भएको हो । सर्वसाधारण ३३० र नेपाली सेनाका २०६ जना गरी ५५६ जना कामदारले हुम्ला खण्डको अदानचुली गाउँपालिकाको गल्फागार्डदेखि सलिसल्लासम्म काम तीव्र रुपमा गरिरहेको खुलालु, लैफु, कवाडी हुँदै सलीसल्ला सडक निर्माण आयोजानाका योजना प्रमुख मिलन कार्कीले बताए ।

कामदारले पुल निर्माण गर्नेदेखि भीर फुटाउने र ग्याबिन भर्ने काम एकसाथ गरिरहेको उनले बताए । दैनिक चट्टानहरू फुटाउने कार्य पनि भइरहेको छ हाल सेनाले निर्माण कार्य अगाडि बढाएको खण्डमा नयाँ कामदार नलिएर बन्दाबन्दी अगाडि काममा प्रयोग हुँदैआएका व्यक्तिहरूलाई नै सामाजिक दूरी कामय गरेर सुरक्षण विधि पनि अपनाउने गरेको छ । प्राथमिक उपचार विधि, औषधि र कामदारको बिमासमेत गरिएको छ । सर्केगार्ड गाउँपालिकाको तुम्चदेखि सलिसल्ला खण्डको सबै भागमा कामदार खटाएर सडक निर्माण गर्ने भइरहेकोले अगामी असार मसान्तसम्म प्रारम्भिक ट्रयाक खोल्ने कार्य सम्पन्न लक्ष्य सेनाको रहेको छ । हुम्ला खण्डको कवाडीदेखि सलीसल्लासम्मको ६१ किलो मिटर दूरी रहेको छ । योध्ये अधिकांश भागमा सडकको ट्रयाक खोल्ने कार्य पूरा भएको छ । अब सात किलोमिटर असजिलो र चट्टानी भागमा काम तीव्र भइरहेको सेनाले जनाएको छ । सेनाको लक्ष्य आगामी असार मसान्तसम्म हुम्ला खण्डको ६१ किलो मिटर सडकको प्रारम्भिक ट्रयाक खोल्ने रहेको छ । यो लक्ष्य पूरा गर्न हाल सडक निर्माणस्थलमा बिहान साढे पाँच बजेदेखि बेलुका सात बजेसम्म निर्माणको काममा सेना र कामदार खटिरहेका छन । आगामी मङ्सिर महिनासम्म उक्त खण्डको विस्तारको काम सकेर सडक विभागलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । बन्दाबन्दीको समयमा एक महिना करिडोरको काम रोकिएको थियो ।