नेपालमा कोरोना संक्रमित ४ सय ५७, तीनको मृत्यु
काठमाडौ : नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बिहीबार दिउँसो झापाका आठ र रुपन्देहीका एकसहित ९ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ । बिहीबार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगर,नेपालगञ्जको भेरी अस्पतालमा र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २० जना नयाँ संक्रमित पुष्टि भएको थियो ।उनीहरुसमेत झापा, कचनकवल गाउँपालिका ३, ६, ८ निवासी हुन । त्यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष, सुनसरी र धरान उप महानगरपालिका निवासी ५१ वर्षीया महिला छन । त्यस्तै नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर गाउँपालिका– ३ का ३२ वर्षका पुरुष, खजुरा– ३ की ४२ वर्षकी महिला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुको शुद्धोधन नगरपालिकाका १९ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ। उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेको मन्त्रालयले जनाएको छ। बिहीबार गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको मृत्यु भएको छ। रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत उनको बिहीबार विहान ८ बजेर १० मिनेटमा मृत्यु भएको हो। जेठ १ गते उपचारका लागि क्रिमसन अस्पतालमा आएका उनको दुई गते स्वाब संकलन गरिएको थियो। जेठ ५ गतेमात्रै उनका कोरोना पोजेटिभ देखिएको थियो । उनको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको हो । प्रदेश ५ मै दुई जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोककी एक महिलाकोसमेत मृत्यु भइसकेको छ ।अहिलेसम्म ४९ जनाले कोरोना जितेका छन् भने संक्रमितको संख्या ४५३ पुगेको छ । नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ र आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ । पल्लिो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय १३ र आरडीटी विधिबाट तीन हजार ६ सय २३ जनाको परीक्षण गरिएको छ ।