Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

दैलेखमा झडप हुँदा प्रहरीसहित तीन जना घाइते

दैलेख – जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ सातटाकुरामा सडक खन्ने क्रममा शनिबार साँझ झडप भएपछि एक प्रहरीसहित तीन जना घाइते भएका छन् । धनपायाबाट आधिघर हुँदै सातटाकुरा लान भनिए अनुसार नलगिएको भन्ने विषयमा विवादले झडप भएको हो । झडपमा २५ वर्षीय प्रहरी जवान भीमबहादुर सुनार, चामुण्डा नगरपालिका–४ सातटाकुराका २८ वर्षीय कमल शाही र ५५ वर्षीय रमेश शाही घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये कमल शाहीको उपचार दैलेख जिल्ला अस्पतालमा भइरहेको, रमेश शाही र प्रहरी जवान सुनारको उपचार दुल्लू अस्पतालमा भइरहेको छ । विवाद भएको ठाउँमा पुगेको प्रहरी टोलीमाथि आक्रमण भएको र प्रहरीले २ राउण्ड हवाई फायर गरेपछि मात्र भिड तितरबितर भएको थियो । प्रहरीमाथि नै ४०–४५ जना आइलागेपछि इलाका प्रहरी कार्यालय दुल्लूबाट त्यहाँका इञ्चार्ज प्रहरी निरीक्षक हिक्मत बोहोराको नेतृत्वमा गएको थप बलले घटनाको अनुसन्धान सुरु गरेको छ । प्रहरी हवल्दार चन्द्रबहादुर रेउलेको कमाण्डमा रहेको प्रहरी चौकी जम्वुकाँधमा रातिदेखि असई प्रेमप्रसाद शर्मालाई खटाइएको छ । कर्णाली प्रदेश सरकारको २५ लाख र चामुण्डा बिन्द्रासैनी नगरपालिकाको ५ लाखमा धनपायाबाट सातटाकुरा–नाव सालडाँडा हुदै जंगलसम्म १३ किलोमिटर सडक खन्न रमेश शाहीको अध्यक्षतामा गठित उपभोक्ता समितिको सट्टा अर्को उपभोक्ता समिति पनि नगरपालिकामा दर्ता गराउन ल्याएको विषयमा विवाद सुरु भएको थियो । उपभोक्ता समितिको विवाद चर्काउन जग्गाधनी कमल शाहीलाई जग्गा नदिन खोजेका तर उहाँलाई समेत सहमत गराएर सडक खन्न डोजर लगाइरहेको बेला उच्छृंखल व्यक्तिहरुले विवाद निकालेपछि बोलाइएको प्रहरीमाथि आक्रमण भएको नगरपालिका उपप्रमुख तारा शाही खत्रीले बताईन । केहि दिन अघि जिल्ला सुरक्षा समितिको बैठकले सामाजिक दुरी कायम गर्दै विकास निर्माणको काम गर्न अनुमति दिएको थियो ।