प्रभावकारी भन्दै बिमा कार्यक्रम
मेरो कर्णाली
जुम्ला,बैशख २५ गते ।
जुम्ला, मुगु र कालिकोटमा लागू भएको स्याउ बीमा कार्यक्रम प्रभावकारी भन्दै गएको छ । बिमा प्रभावकारी बनेपछि बीमा गर्नेको सङ्ख्या बढ्दै गएको छ । कर्णालीमा केही वर्षयता स्याउको बिरुवा लगायत निर्जीवन बीमाप्रति आकर्षण बढ्दै गएको हो । थोरै लगानीमा धेरै रकम प्राप्त हुने भएपछि बीमाप्रतिको आकर्षण बढ्दो छ । कर्णालीका स्याउ फल्ने तीन जिल्लामा स्याउका बिरुवाको बीमा गर्ने सरकारी कार्यक्रम चलेको छ । यो वर्षको सिजनका लागि जुम्लमा ९सय किसानले ५० हजार स्याउका बिरुवाको बीमा गरेका छन् । त्यस्तै मुगुमा ३ सय किसानले १९ हजार स्याउका बिरुवा र कालिकोटमा ३सय किसानले २६ हजार स्याउका बिरुवाको बीमा गरेका छन् । जुम्लामा सबैभन्दा बढी स्याउको बीमा गरिएको शिखर इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक ऋषिराम पाण्डेले बताए । उनले कर्णाली क्षेत्रमै सबैभन्दा धेरै जुम्लामा ५० हजार स्याउको बिरुवाको बीमा गरिएको बताए । निर्जीवन बीमा कार्यक्रममा सरकारले ७५ प्रतिशत र बिमितले २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ ।