सडकमा कोही मगन्ते देखेमा तुरुन्त फोन गर्नुस् : प्रधानमन्त्री ओली
१५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । राष्ट्रिय योजना आयोगको आजको पूर्ण बैठकमा अध्यक्षता गर्दै उनले गरीब र अशक्तलाई सरकारले खान र बस्नका लागि जिम्मा लिने भएकाले आगामी पन्ध्रौ योजनाको अवधिमा निरपेक्ष गरीबीको रेखामुनिको प्रतिशतमा उल्लेखनीय गिरावट आउने जिकिर गरे ।
आयोगका अध्यक्ष ओलीले भने, ‘हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ अगाडि बढेका छौँ । त्यसैले अब कोही पनि भोका रहने छैनन् । कोही व्यक्ति सडकमा बाध्यतावश मागेर हिँडेको देखेमा तुरुन्त फोन गर्नुस् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारले जिम्मेवारी लिन्छ ।’