Loading... आजः बुधबार, मंसिर १०, २०८३
Trending

लैंगिक हिंसा न्यूनीकरणका लागि सबैको साझा प्रयास आवश्यक : शाही

दैलेख  :   जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले लैंगिक हिंसा न्यूनीकरणका लागि सबै सरोकारवाला निकायको साझा प्रयास आवश्यक रहेको बताएका छन्। जिल्ला समन्वय समितिको आयोजनामा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य सेवालाई सुदृढीकरण गर्न आयोजित जिल्ला स्तरीय सरोकारवालासँगको समन्वय बैठकमा बोल्दै प्रमुख शाहीले कुनै एक निकायको प्रयासले मात्रै लैंगिक हिंसा न्यूनीकरण सम्भव नहुने भन्दै सबै पक्षबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएका हुन्।

उनले लैंगिक हिंसा रोकथामका लागि स्थानीय तह, सरकारी तथा गैरसरकारी संघसंस्था र अन्य सरोकारवाला निकायले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताए।

बैठकमा जिल्लाका ११ वटै स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत तथा जिल्ला स्वास्थ्य सेवा कार्यालयलगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकमा नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्मा, आठबीस नगरपालिकाका नगरप्रमुख तर्क बडुवाल र नौमुले गाउँपालिकाका अध्यक्ष छवि सुवेदीलगायत ११ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले लैंगिक हिंसा न्यूनीकरणका लागि विगतमा गरिएका प्रयासले अपेक्षित सार्थकता प्राप्त गर्न नसकेको स्वीकार गरेका छन्।

उनीहरूले आगामी दिनमा लैंगिक हिंसा न्यूनीकरणका कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। साथै जिल्लामा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ९ओसीएमसी० लाई प्रभावकारी बनाउन आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

लैंगिक हिंसाबाट प्रभावित व्यक्तिलाई समयमै स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, कानुनी सहायता तथा आवश्यक संरक्षण उपलब्ध गराउन सरोकारवाला निकायबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा बैठकमा जोड दिइएको थियो।