बालसंवेदनशील सामाजिक सुरक्षा कार्यक्रम समुदायका लागि प्रभावकारी : नगरप्रमुख शर्मा

दैलेख : नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले बालसंवेदनशील सामाजिक सुरक्षा कार्यक्रम समुदायका लागि निकै प्रभावकारी कार्यक्रम रहेको बताएका छन्। परियोजना सल्लाहकार समितिमार्फत आयोजित अनुगमन, मूल्याङ्कन, समीक्षा तथा पालिकास्तरीय वार्षिक समीक्षा कार्यक्रममा बोल्दै नगरप्रमुख शर्माले बालबालिकाको अधिकार संरक्षण, उनीहरूको क्षमता विकास र सामाजिक सुरक्षाका क्षेत्रमा कार्यक्रमले सकारात्मक योगदान पुर्याएको बताएका हुन्।
उनले बालबालिकाको समग्र विकासका लागि सञ्चालन गरिएका कार्यक्रमलाई समुदायस्तरसम्म प्रभावकारी रूपमा पुर्याउनुपर्नेमा जोड दिए। बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सुरक्षित भविष्य सुनिश्चित गर्न स्थानीय सरकारसँगै समुदाय, अभिभावक र सरोकारवाला निकायको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा नारायण नगरपालिकाका नगर उपप्रमुख तत्ताकुमारी थापाले बालसंवेदनशील सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालन भएका गतिविधि प्रभावकारी देखिए पनि समुदायमा अझै बालविवाहको समस्या कायमै रहेको बताइन्।
उनले बालविवाह न्यूनीकरणका विषयलाई पनि कार्यक्रमसँग जोडेर समुदायस्तरमा सचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याइन्। बालबालिकाको अधिकार र संरक्षणका विषयमा समुदायलाई जानकारी गराउँदै गर्दा बालविवाहले उनीहरूको शिक्षा, स्वास्थ्य र भविष्यमा पार्ने नकारात्मक असरबारे पनि सिकाएर लैजानुपर्ने उनको भनाइ थियो।
एभरेष्ट क्लब दैलेखका परियोजना संयोजक भुपेन्द्र खत्रीका अनुसार कार्यक्रमको मुख्य लक्ष्य महिला, बालबालिका, किशोरकिशोरी, लैंगिक हिंसाबाट प्रभावित व्यक्ति, अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्ति र गरिबी एवं पछाडि पारिएका समुदायको आर्थिक, सामाजिक तथा वातावरणीय अवस्थाको सुधार गर्दै दिगो विकासमा योगदान पुर्याउनु रहेको छ।
उनले लक्षित समुदायको आवश्यकता पहिचान गरी उनीहरूको जीवनस्तर सुधार, सामाजिक सुरक्षा र समावेशी विकासका लागि कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।
कार्यक्रममा परियोजनाअन्तर्गत सञ्चालित गतिविधिहरूको अनुगमन तथा मूल्याङ्कन, उपलब्धि र चुनौतीको समीक्षा गर्नुका साथै आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। पालिकास्तरीय वार्षिक समीक्षामार्फत कार्यक्रमको प्रभावकारिता र आगामी कार्यदिशाबारे समेत समीक्षा गरिएको थियो।


