कार्कीको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश


काठमाडौँ : सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बुधबार कारण देखाउ आदेश जारी गर्दै रिट निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश गरेको हो ।
अदालतले सरकारलाई सूचना म्याद तामेल भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
त्यस्तै, अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न यही मङ्सिर ७ गते दुवै पक्षलाई उपस्थित हुन आदेश दिइएको छ । सोही दिन मन्त्रिपरिषद्को कात्तिक १८ गतेको निर्णयको प्रमाणित प्रतिलिपि तथा अन्य सम्बन्धित कागजात भए तीसमेत पेस गर्न अदालतले आदेश दिएको छ । मुद्दाको प्रकृति र संवेदनशीलतालाई विचार गरी अदालतले अग्राधिकारसमेत प्रदान गरेको छ ।
गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने र रिक्त प्रहरी महानिरीक्षक पदमा डा। मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
सरकारले आफूलाई पूर्वसूचना नदिई तथा आफ्नो कुरा राख्ने अवसरसमेत प्रदान नगरी प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत पदबाट हटाएको जिकिर गर्दै कार्कीले गत कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

