Loading... आजः बिहिबार, मंसिर ४, २०८३
Trending

चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने


काठमाडौं  :   कमिल मिशाराको शानदार शतक र बलरहरुको उत्कृष्ट प्रदर्शनमा काठमान्डु गोर्खाजलाई पराजित गर्दै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । टीयू मैदानमा बुधबार भएको एलिमिनेटरमा चितवनले काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गरेको हो ।

चितवनले अब फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ । यस खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै फाइनल प्रवेश गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ओपनिङ ब्याटर कमिशल मिशाराको अविजित शतकमा मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो । २०५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा आएको काठमान्डुले पूरै २० ओभर ब्याटिङ गरेपनि ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।

काठमान्डुका लागि विलियम बोसिस्टोले २८ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा सर्वाधिक ३७ रन बनाए । भीम सार्कीले अविजित ३० रन जोडे । सहान अराचिगेले १३ बलमा २ चौका र १ छक्का प्रहार गरी २४ रन जोडे । रासिद खानले १२ रन बनाए ।

ओपनर साहिल पटेल दोस्रो ओभरमै व्यक्तिगत २ रनमा आउट भए । त्यसपछि विलियम बोसिस्टोले अर्का ओपनर साम हिजलेटसँग २५ रनको साझेदारी गरे । तर हिजलेट पनि पाँचौ ओभरमा व्यक्तिगत ३ रनमै आउट हुँदा काठमान्डुले ३० रनमा २ विकेट गुमायो ।

त्यसपछि बोसिस्टोले रासिद खानलसँग तेस्रो विकेटका लागि ३३ रनको साझेदारी गरे । बोसिस्टो, रासिद खान र सहान अरागिचेको विकेट गुमेपछि काठमान्डुले ९२ रनमा ६ विकेट गुमायो । सुरुमै विकेट गुमाएको काठमान्डुले कुनै पनि विकेटका लागि ठूलो साझेदारी गर्न सकेन र अलआउट भयो । कप्तान करण केसी र जहानदाद खान समान १ रनमा आउट भए । सोनु देवकोटाले ६ र सन्तोष यादव १० रनमा आउट भए ।दशौँ नम्बरमा ब्याटिङमा आएका भीम सार्कीले १७ बल खेल्दै ३ छक्का मदतमा अविजित ३० रन बनाए ।

चितवनका लागि बलिङमा रिजन ढकालले शानदार बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । उसामा मिरले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । कुशल मल्ल र सलाउद्दिन खानले १-१ विकेट लिए ।