Loading... आजः बिहिबार, कार्तिक २०, २०८३
Trending

सर्बदलिय बैठकमा १७ बुँदे निर्णय, मंसिर १ देखि लागू हुने

 

दैलेख  :   दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकामा देखिएको अव्यवस्थित यातायात, ट्राफिक जाम तथा बजार व्यवस्थापनको समस्या समाधान गर्न १७ बुँदे सर्वपक्षीय निर्णय गरिएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीको अध्यक्षतामा नारायण नगरपालिकाको सभाहलमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले काँडाचौरस्थित बसपार्कलाई स्थायी रूपमा सञ्चालन गर्नेसहितका निर्णय गरेको हो।

बैठकले नारायण नगरपालिका–६ स्थित काँडाचौर बसपार्कलाई स्थायी रूपमा सञ्चालनमा ल्याउने, बसपार्कको सुरक्षाका लागि अस्थायी प्रहरी बिट स्थापना गर्न माग गर्ने तथा आवश्यक संरचना र फर्निचरको व्यवस्था नगरपालिकाले गर्ने निर्णय गरेको छ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय नजिकको पुरानो बसपार्क क्षेत्रमा ग्यारेजमा राखिएका सवारीसाधनबाहेक अन्य सबै सवारीसाधन काँडाचौर बसपार्कमा राति पार्किङ गर्नुपर्ने व्यवस्था मिलाइने भएको छ। नारायण नगरपालिका–१ को भगवती टोल नजिक तत्काल छुट बस काउन्टर तथा अस्थायी प्रहरी बिट स्थापना गर्ने निर्णयसमेत गरिएको छ।

यातायात सञ्चालनलाई व्यवस्थित बनाउन मालवाहक ट्रकबाहेक अन्य सवारीसाधनका लागि जिल्ला प्रशासन कार्यालय, कारागार, प्रहरी कार्यालय र डिभिजन वन कार्यालय हुँदै मध्यपहाडी राजमार्गबाट काँडाचौर पुग्ने गरी एकतर्फी यातायात प्रणाली लागू गरिनेछ।

 

यसैगरी, बसपार्कमा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन निर्माण गर्न उद्योग वाणिज्य संघसँग समन्वय गरी नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखले आवश्यक व्यवस्थापन गर्ने निर्णय भएको छ।

बजार क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी राखिएका पसल तथा सडकपेटीमा राखिएका सामान तत्काल हटाइने भएको छ। मालवाहक ट्रक तथा ठूला सवारीसाधनले सामान लोड तथा अनलोड गर्ने समय साँझ ५ बजेदेखि बिहान ९ बजेसम्म तोकिएको छ। बसपार्क तथा छुट बस काउन्टर क्षेत्रमा फोहोर व्यवस्थापनका लागि नगरपालिकाले तत्काल योजना बनाउने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले बजारको यातायात तथा ट्राफिक जाम नियन्त्रणका लागि विगतदेखि नै प्रयास हुँदै आए पनि अपेक्षित सुधार हुन नसकेको बताए। उनले सर्वपक्षीय बैठकबाट भएका निर्णय आम नागरिकको हितमा पूर्ण रूपमा कार्यान्वयन गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे।

उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष नरेन्द्र थापाले यातायात तथा ट्राफिक व्यवस्थापन संवेदनशील विषय भएकाले दीर्घकालीन समाधान आवश्यक रहेको बताए।