Loading... आजः सोमवार, कार्तिक १७, २०८३
Trending

जनकपुरको दोस्रो जित, पोखरा फेरि पराजित


काठमाडौं  :  नेपाल प्रिमियर लिग(एनपीएल)मा पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दै जनकपुर बोल्ट्सले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन बनाएको थियो । जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३८ रन मात्रै बनायो। आजको खेलमा हार बेहोर्दा यो पोखराको लगातारपटक पराजित भएको हो।

पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए। उनले २४ बलमा ५ चौका प्रहार गरे। पोखराका ओपनरद्वय सस्तैमा पेभेलियन फर्किदा कुशलले केहीबेर क्रिज सम्हाल्दै बाउन्ड्री प्रहार गरेका थिए। उनलाई अर्को इन्डबाट भने खासै साथ मिलेको थिएन । पोखराका शकिब अल हसन १७ बलमा ९ रन बनाउँदै बाउन्ड्रीमा मयन यादवको हातमा क्याच भए। अर्जुन घर्ती ७ रनमा क्याच भए। किरण ठगुन्ना ५ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाउँदै जनकपुरका कप्तान हर्मित सिंहको हातबाट एलबीडब्ल्यू धरापमा परे। विपिन आर्चाय २० रन बनाउँदै क्याच भए। विपिन खत्री १७ र प्रतिक पोख्रेल २ रनमा अविजित रहे।

जनकपुरको लागि मोइन अलिले सर्वाधिक ३ विकेट लिए। सैफ हसन र हर्मित सिंहले २–२ विकेट लिए। ललित राजवंशी र जीमी निशमले १–१ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको जनकपुर बोल्ट्सका लागि ओपनर ब्याटर तृतराज दासले सर्वाधिक ६१ रन बनाए। उनले ५५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। उनले पहिलो विकेटको लागि अर्का ओपनर मोइन अलिसँग ४७ रनको साझेदारी बनाएका थिए।

मोइन अलिले २१ रन बनाए। पावरप्लेमा बिना कुनै विकेटको क्षती ४५ रन बनाएको थियो। त्यसपछि भने जनकपुरले सोचेअनुरुप खेल्न सकेन। जनकपुरको मध्यक्रममा सुस्ताएको थियो। सैफ हसन र हर्मित सिंह क्रमशः १ र ९ रन बनाएर पेभेलियन फर्किए। अनिल कुमार शाहले ९ रन बनाउँदा जिमी निशम ११ रनमा क्याच भए। जनकपुरका युवा ब्याटर अभिषेक तिवारीले आक्रमक ब्याटिङ प्रदर्शन गरे। उनले १० बलमा १ चौका र २ छक्कासहित २४ रनमा अविजित रहे। अमर सिंह रौतेला २ रनमा बोल्ड भए । पोखरा एभेन्जर्सका लागि शकिब अल हसनले सर्वाधिक ३ विकेट लिए। चमिका करुणारत्नेले २ विकेट लिए। मेहेदी हसन र मोहम्मद सैफउद्धिनले १–१ विकेट लिए।

पोखराले पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो। जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा भने जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध ८ विकेटको जित दर्ता गरेको थियो। सोमबार डबल हेडर रहेको छ। पहिलो खेल दिउँसो १२ः३० मा काठमाडौं गोर्खाज र कर्णाली याक्सले खेल्नेछन्। दोस्रो खेल साँझ ५ बजे हुनेछ। जसमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले खेल्नेछन्।