Loading... आजः शुक्रबार, अशोज ३०, २०८३
Trending

करातेमा दोहोरो अङ्कको स्वर्ण पदक जित्ने लक्ष्यमा कर्णाली


दैलेख  :  दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कराते विधाबाट दोहोरो अङ्कमा स्वर्ण पदक जित्ने लक्ष्य कर्णाली प्रदेशले राखेको छ । प्रतियोगिताका लागि प्रदेशस्तरीय छनोटमा सहभागी खेलाडीमध्ये अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव हासिल गरेका महिला खेलाडीबाट स्वर्ण पदकको बढी अपेक्षा गरिएको छ ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि करातेको प्रदेशस्तरीय छनोट प्रतियोगितमा बोल्दै कर्णाली खेलकुद परिषदका सदस्य पवन थापाले उत्कृष्ट खेलाडी छनोट गरेर कर्णालीले स्वर्णपकद प्राप्त गर्ने लक्ष्य राखेको बताउनभुयो । उहाँले भन्नुभयो करातेका प्रशिक्षकले अत्यन्तै मेहेनत गरेर दशौ राष्ट्रिय खेलकुदमा बिशेष गरी करोत लगायतका अन्य खेल बाट पनि स्वर्णपदकको अपेक्षा परिषदले राखेको बताउनुभयो ।
कर्णाली प्रदेश कराते महासङ्घका प्रदेश प्रमुख प्रदीपकुमार राईका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडीबाट राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदकको आशा गरिएको बताउनुभयो । उहाँले ६८ केजी तौल समूहकी सुपा नेपाली, विद्या कटुवाल प्रियका शाही लगायतका खेलाडीबाट पदकको अपेक्षा गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार नवौँ राष्ट्रिय खेलकुदमा प्राप्त अनुभवलाई समेत आधार बनाएर यसपटक करातेमा राम्रो नतिजा ल्याउने लक्ष्य राखिएको छ ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि करातेको प्रदेशस्तरीय छनोटमा कर्णालीका आठ जिल्लाका खेलाडी सहभागी भएका छन् । छनोट प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गराउने तयारी छ । दशौँ राष्ट्रिय खेलकुदका लागि छनोट प्रतियोगितामा सहभागी अन्तर्राष्ट्रिय कराते खेलाडी प्रियङ्का शाहीले राष्ट्रिय प्रतियोगिताका लागि प्रदेश सरकारले गरेको लगानी पर्याप्त नभएको बताउनुभयो । खेलाडी छनोटपछि क्लोज क्याम्पमा बसेर तयारी गर्ने समय निकै कम भए पनि आफूहरूले उत्कृष्ट प्रदर्शन गरेर प्रदेशलाई स्वर्णपदक दिलाउँन आफुले मेहेनत गर्ने बताउनुभयो । शाहीले आफू एकल स्पर्धामा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने लक्ष्यसहित तयारीमा जुटेको बताउनुभयो । खेल पूर्वाधारको अभाव र आवश्यक तालिमको कमीले खेलाडीको तयारीमा चुनौती थपिएको उहाँले उल्लेख गर्नुभयो ।
अन्तर्राष्ट्रिय कराते खेलाडी विद्या कटुवालले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमै आयोजना हुनु प्रदेशका खेलाडीका लागि सौभाग्य भएको बताउनुभयो । उहाँले दसैँपछि क्लोज क्याम्पमा बसेर प्रतियोगिताको तयारी गरिने जानकारी दिनुभयो । प्रदेश सरकारले पदक विजेता खेलाडीलाई प्रोत्साहन भत्ता उपलब्ध गराएको भए पनि प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्न थप प्रशिक्षण आवश्यक रहेको कटुवालको भनाइ छ । पर्याप्त प्रशिक्षण र तयारीको अवसर पाएमा स्वर्ण पदक जित्न सकिने विश्वास व्यक्त गर्दै उहाँले त्यसका लागि मेहनत गरिरहेको बताउनुभयो । कर्णालीले करातेमा दोहोरो अङ्कको स्वर्ण पदक जित्ने लक्ष्य राखे पनि त्यसका लागि खेलाडीको नियमित प्रशिक्षण, आवश्यक खेल पूर्वाधार र प्रतियोगिताअघि पर्याप्त तयारीको अवसर महत्त्वपूर्ण बताइएको छ ।