Loading... आजः शुक्रबार, अशोज २३, २०८३
Trending

चाडपर्वमा यात्रु ठगी रोक्न यात्रु सहायता कक्ष


दैलेख  :  नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सार्वजनिक यातायातमा हुन सक्ने यात्रु ठगी तथा अनियमितता नियन्त्रण गर्न दैलेखमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेख र जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखको संयुक्त आयोजनामा २०८३ असोज २२ गतेदेखि नारायण नगरपालिका–१ स्थित बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले सार्वजनिक यातायातमा बढी भाडा असुल्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुको सामान छुट्ने तथा यात्रुवाहक सवारीसाधनमा व्यापारिक प्रयोजनका सामान बोक्ने जस्ता गतिविधि हुन सक्ने भन्दै त्यस्ता कार्यलाई निरुत्साहित गर्न सहायता कक्ष सञ्चालनमा ल्याइएको बताइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख जयसिंह गुरुले चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले यात्रुलाई सहज र सुरक्षित यात्रा गराउने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको बताउनुभयो। उहाँका अनुसार यात्रुले बढी भाडा तिर्नुपर्ने अवस्था, क्षमताभन्दा बढी यात्रु राख्ने, सामान छुट्ने वा सार्वजनिक यातायातमा अन्य कुनै समस्या भए तत्काल सहायता कक्षमा जानकारी गराउन सकिनेछ । “चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले यात्रु ठगी तथा यातायात क्षेत्रमा हुन सक्ने अनियमितता नियन्त्रण गर्न सहायता कक्ष स्थापना गरेका हौँ,” प्रमुख गुरुले भन्नुभयो, “यात्रुले तोकिएको भन्दा बढी भाडा तिर्नुपर्ने अवस्था आएमा वा सवारीसाधनमा कुनै समस्या भए तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गर्दछौँ। त्यस्ता गुनासामाथि आवश्यक छानबिन गरी कारबाही गर्छौँ ।”उहाका नारायण नगरपालिका–१ बसपार्कसँगै दुल्लु नगरपालिका–५ चाँदनी चोक, आठबीस नगरपालिका–४ राकमकर्णाली बजार तथा गुराँस गाउँपालिका–४ रानीमत्तामा समेत यात्रु सहायता कक्ष स्थापना गरिएको छ
सहायता कक्षबाट यात्रुलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउनुका साथै सार्वजनिक यातायातमा देखिएका समस्या र यात्रुका गुनासा तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्पराज रोकायाले चाडपर्वको समयमा सवारीसाधनको नियमित अनुगमन तथा निगरानीलाई समेत प्रभावकारी बनाइने बताउनुभयो । उहाँले भन्नुभयो प्रहरीले सार्वजनिक यातायातमा यात्रा गर्दा तोकिएको भाडा मात्र तिर्न, आफ्नो सामानको सुरक्षा गर्न र कुनै समस्या वा अनियमितता भए नजिकैको यात्रु सहायता कक्ष वा प्रहरीलाई तत्काल जानकारी गराउन यात्रुलाई आग्रह गरिएको बताउनुभयो ।